• गृहपृष्ठ
  • मुलुकभर ९ लाख कम्पनी सञ्चालनमा, सामाजिक सुरक्षा योजनामा भने १० हजार मात्रै दर्ता

मुलुकभर ९ लाख कम्पनी सञ्चालनमा, सामाजिक सुरक्षा योजनामा भने १० हजार मात्रै दर्ता

Nov 28th, 2019

काठमाडौं, १२ मंसिर
मुलुकभर करिब ९ लाख कम्पनी सञ्चालनमा भए पनि एक वर्षमा जम्मा १० हजार ४ सय ७७ कम्पनी मात्र कोषमा आबद्ध भएका छन् । त्यस बापत १८ करोड १३ लाख रुपैयाँ जम्मा भएको छ ।

सरकारले कम्पनीहरुलाई योजनाबाट भाग्न नपाउने चेतावनी दिएको छ । उपप्रधानमन्त्री इश्वर पोखरेले भने, ‘उद्योगी मोटाउने र कामदार भोकै मर्ने दिनको अन्त्य गर्न चाहन्छौ, साथै उद्योगीको लगानी जोखिममा पर्ने र कामदारहरु यस आराममा रहने पनि हुदैन, सबैले अब सामाजिक सुरक्षा योजनामा साथ दिनु जरुरी छ ।’

सामाजिक सुरक्षाकै अभावमा नेपाली श्रम बजारमा अधिकांश कामदार र आश्रित परिवारको अवस्था दयनीय छ । जसलाई अन्त्य गर्न नै सरकारले यो योजना कार्यान्वयनमा ल्याएको हो । तर यस योजनामा सहभागी हुन कम्पनीहरुले भने आनाकानी गरेका छन् । सरकारले सामाजिक सुरक्षा योजना कार्यान्वयनमा ल्याएको अहिले एक वर्ष बितेको छ । यो बिचमा जम्मा १० हजार ४ सय कम्पनी मात्रै यो योजनामा सहभागी भएका छन् ।

२ परिवारले पाए कोषबाट रकम
हेटौँडाको एक कम्पनीका इन्जिनियर रुपेन्द्र थापाको सवारी दुर्घटनामा परी असोज २२ गते ज्यान गयो । उनले सामाजिक सुरक्षा कोषमा योगदान गरेको दुई महिना मात्र भएको थियो । सामाजिक सुरक्षा कोषका अनुसार उनले मासिक २८ हजार रुपैयाँ तलब बुझ्ने गरेका थिए । उनकी श्रीमतीले मासिक १७ हजार रुपैयाँ कोषबाट पाउने भएकी छन् । उनलाई उपप्रधानमन्त्री इश्वर पोखरेलले अन्तीम संस्कारको खर्च समेत चेक मार्फत हस्तान्तरण गरेका छन् ।

त्यसैगरि ललितपुरका एउटा क्याफेका कर्मचारी प्रकाश तामाङको केहि समय अघि मृत्य भएको थियो । उनको मासिक तलब १८ हजार थियो । उनले पनि कोषलाई योगदान गरेको जम्मा दुई महिना भएको थियो । उनका बाआमाले मासिक १० हजार रुपैयाँ पाउने भएका छन् । उनका बाआमालाई पनि चेक बुधबार हस्तान्तरण गरिएको थियो ।

दायित्वबाट पन्छिन ठेकेदारबाट कर्मचारी नियुक्त गर्दै कम्पनीहरु
कम्पनीहरु दायित्वबाट पन्छिन खोजिरहेका छन्, तर सरकारले यसमा कडाई गर्न सकेको छैन । अखिल नेपाल ट्रेड युनियनका कार्यवाहक अध्यक्ष, जगत सिंखडाका अनुसार पछिल्लो समय विभिन्न कम्पनीहरुले स्थायि कर्मचारीहरु भटाभट निकालिरहेका छन् । विभिन्न बहानामा कर्मचारी निकाल्ने र ठेकेदार कम्पनीबाट कर्मचारी नियुक्त गर्ने प्रवृति बढ्दो छ। सिंखडाले भने ‘ आफ्नो दायित्वबाट बच्न विभिन्न कम्पनीहरुले ठेकेदार कम्पनीबाट कर्मचारी भर्ना गर्दैछन् , पुराना कर्मचारी निकालिदैछन्, सरकार यसमा समयमै सचेत हुन जरुरी छ । ’

श्रमिकले उमेर छउन्जेल काम गरेको थोरै रकम कोषमा जम्मा गर्दा बुढेसकालमा पेन्सन र बीचैमा ज्यान तलमाथि भए परिवारका सदस्यले नियमित रकम पाउन सक्ने गरी सामाजिक सुरक्षा कोष ल्याइएको हो । तर उद्योगीहरु भने आर्थिक दायित्वबाट उम्कने मात्रै उापय खोजिरहेका छन् । एक अर्थमा भन्नुपर्दा अहिले रोजगारदाताहरुले बेइमानी गरिरहेका छन् । सामाजिक सुरक्षा कार्यक्रम लागू गर्ने सर्तमा श्रम ऐन केहि लचिलो बनाइएको हो । तर उद्योगीहरुले श्रम ऐन मार्फत आफ्नो स्वार्थ पुर्ति गरेपछि श्रमीकको दायित्वबाट बच्न विभिन्न बहानाहरु बनाइरहेका छन् । रोजगारदाताको बेइमानीमा सरकारले कडाई गर्न जरुरी छ ।