• गृहपृष्ठ
  • बङ्गलादेशमाथि नेपालको जीत(महिला भलिबल) :१३औँ साग

बङ्गलादेशमाथि नेपालको जीत(महिला भलिबल) :१३औँ साग

Nov 27th, 2019

काठमाडौँ, ११ मङ्सिर (रासस)

तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत आजदेखि शुरु भएको भलिबल खेलमा नेपाली महिला टोलीले बङ्गलादेशलाई पराजित गर्दै प्रतियोगितामा सुखद शुरुआत गरेको छ ।

सागको औपचारिक उद्घाटन यही मङ्सिर १५ गते हुने भए पनि महिला र पुरुष भलिबल खेल भने आजदेखि नै शुरु भएका हुन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिष्द (राखेप) को कभर्डहलमा आज भएको उद्घाटन खेलमा राष्ट्रिय महिला भलिबल टोलीले बङ्गलादेशलाई ३–० को सोझो सेटमा पराजित गरेको हो ।

सागमा स्वर्णपदक भित्र्याउने लक्ष्य लिएको नेपाली महिला भलिबल टोलीले पहिलो सेट २५–९ ले जित्यो भने दोस्रो सेट पनि समान २५–९ ले आफ्नो पक्षमा पा¥यो । त्यसैगरी तेस्रो तथा अन्तिम सेटमा नेपालले बङ्गलादेशमाथि २५–११ ले आफ्नो पक्षमा पा¥यो ।

सागमा महिला भलिबल टोलीको यो चौथो सहभागिता हो । सन् १९९९ मा नेपालले घरेलु मैदानमा दोस्रो पटक आयोजना गरेको आठौँ दक्षिण एशियाली खेलकूद (साग)मा पहिलो पटक सहभागिता जनाएको थियो । त्यतिबेला काठमाडौँमा भएको खेलमा नेपालले कास्य पदक हात पारेको थियो ।

त्यस्तै सन् २००६ मा श्रीलङ्काको कोलम्बोमा भएको दशौँ सागमा दोस्रो तथा सन् २०१४ मा भारतमा भएको १२ आँै सागमा तेस्रो पटक सहभागिता जनायो । दशौँ र बाह्रौँ सागमा नेपालले कास्य पदक जितेको थियो । दक्षिण एशियामै सधँै तेस्रो बन्ने महिला भलिबल टोलीले यसपटकको सागमा भने नयाँ इतिहास कायम गर्ने लक्ष्य लिएको छ ।

त्यसैगरी आजै हुने पुरुष भलिबलतर्फको अर्को खेलमा नेपालले बङ्गादेशसँगै प्रतिस्पर्धा गर्नेछ । खेल साँझ ७ बजे शुरु हुनेछ । पुरुष भलिबलमा नेपाल समूह ‘ए’ मा परेको छ । नेपालको समूहमा भारत र बङ्गलादेश छन् ।

त्यस्तै समूह ‘बी’ मा पाकिस्तान, श्रीलङ्का र माल्दिभ्स छन् । दुई समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।