• गृहपृष्ठ
  • वृद्धाद्वारा वडा कार्यालयलाई २५ लाखको जग्गा दान

वृद्धाद्वारा वडा कार्यालयलाई २५ लाखको जग्गा दान

Nov 27th, 2019

खोटाङ, ११ मङ्सिर (रासस)

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीकी ७१ वर्षीया कमला श्रेष्ठले रु २५ लाख मूल्य बराबरको जग्गा वडा कार्यालयलाई निःशुल्क प्रदान गर्नुभएको छ । उहाँले पाँच रोपनी जग्गा वडा कार्यालयलाई दान गर्नुभएको हो ।

जेठा छोरा प्रतापसँगै दिक्तेल आउनुभएकी कमलाले जिल्ला मालपोत कार्यालयमा गएर आफ्नो नाममा रहेको जग्गा वडा कार्यालयको नाममा निःशुल्क हाल्न लगाएको वडासचिव चित्रकुमार सुवेदीले जानकारी दिनुभयो । जग्गादाता कमलाले खार्मीस्थित स्कूलडाँडामा रहेको आफ्नो नामको जग्गाधनीपूर्जा वडा कार्यालयको नाममा नामसारी गरेर वडाध्यक्ष रामचन्द्र राईलाई प्रदान गर्नुभयो । जग्गा अभावमा वडा कार्यालय भवन निर्माण गर्न कठिनाइ भएको अवस्थामा श्रेष्ठ परिवारलाई नयाँ भवन निर्माण गर्न निःशुल्क जग्गा दिन अनुरोध गरिएको वडाध्यक्ष राईले बताउनुभयो ।

निःशुल्क जग्गा प्राप्त भएसँगै भवन निर्माणका लागि नगरपालिकालाई अनुरोध गरिने वडा कार्यालयले जनाएको छ । चालु आवदेखि वडाको आफ्नै कार्यालय भवन निर्माणको काम शुरु गरिने नगरप्रमुख दीपनारायण रिजालले बताउनुभयो । भवन निर्माण गर्न प्रदेशबाट प्राप्त हुने समपूरक कोष र नगरपालिकाको ५०/५० प्रतिशत लगानी रहनेछ । पन्ध्र वडा रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको अधिकांश वडा कार्यालय भाडाको घरमा सञ्चालनमा छन् ।