• गृहपृष्ठ
  • ९ वटा जलविद्युत आयोजनाले २ अर्ब १५ करोड रुपैयाँको सेयर निष्काशन गर्दै, बिक्ला त सेयर ?

९ वटा जलविद्युत आयोजनाले २ अर्ब १५ करोड रुपैयाँको सेयर निष्काशन गर्दै, बिक्ला त सेयर ?

Nov 27th, 2019

काठमाडौं, ११ मंसिर
सेयरबजार परिसुचक अहिले निरन्तर घटिरहेको छ र, तत्काल यो माथि जाने कुनै संकेत देखिएको छैन । गिर्दाे सेयरबजारमा पनि ९ वटा जलविद्युत आयोजनाले भने प्राथमिक सेयर निष्काशन गर्न लागेका छन् । मंगलबार सेयरबजार परिसुचक नेप्से शुन्य दशमलव ११ अंकले ओर्लदै ११ सय ९ अंक कायम भएको छ । यो १ हजार ९० को आसपासमा ओर्लन सक्ने विश्लेषकहरु बताउँछन् । यस्तो बेलामा नै ९ वटा जलविद्युत आयोजनाले २ अर्ब १५ करोड रुपैयाँको सेयर निष्काशन गर्दैछन् ।

लगानीकर्तालाई प्रतिफल दिन नसकेका कारण जलविद्युत कम्पनीको सेयरमा लगानीकर्ताको आकर्षण घटिरहेको छ । सेयरबजारमा सूचीकृत अधिकांशजल विद्युत आयोजनाको सेयरमूल्य १ सय रुपैयाँ भन्दा तल झरेको छ । नेपाल स्टक एक्सचेन्जमा सूचीकृत ३२ वटा जलविद्युत कम्पनीमध्ये अहिले १९ वटाको मूल्य १ सय रुपैयाँ भन्दा तल छ । पछिल्लो तीनवर्षमा २१ वटा जलविद्युत आयोजनाले प्राथमिकसेयर निष्काशन गरेकामा १२ वटा जलविद्युत आयोजनाले पूरै सेयर बेच्नै नसकेको उदाहरण छ ।

विगतमा जलविद्युत आयोजनाका प्रवद्र्धकले वास्तविकभन्दा बढी स्वपुँजी देखाएर सेयर जारी गरेकाले लगानीकर्ताको आकर्षण घटेको हो । अहिले भने लगानीकर्ता चनाखो भइसकेका छन् । जसका कारण प्रवर्धकहरुले लगानीकर्ता झुक्याउन सक्ने स्थिती छैन । तर प्रवर्धकहरुको यस्तो बदमासीले आगामी दिनमा जलविद्युत आयोजनाका लागि आवश्यक पर्ने पुाजी नै नजुट्नहोकि भन्ने खतरा पनि पैदा भएको छ ।

यो बाहेक सेयर बजारमा थप ११ अर्ब २५ करोडको सेयर आउँदैछ । ६ वटा वाणिज्य बैंकले ५ अर्ब १० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्दैछन् । २ वटा सामूहिक कोषले १ अर्ब ८० करोड रुपैयाँ बराबर लगानी आह्वान गर्दै छन् । बजारमा थप सेयरको उपलब्धता बढ्ने देखिन्छ तर माग बढ्ने भने कुनै आधार छैन । बजारमा माग भन्दा सेयरको उपलब्धता भए त्यसले फेरी बजार थप घटाउन सक्छ ।