नेपाल पुलिस क्लब फाइनलमा

Nov 26th, 2019

काठमाडौँ, १० मङ्सिर (रासस)

नेपाल पुलिस क्लब चन्द्रागिरि मेयर गोल्डकप ‘ए’ डिभिजन फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । चन्द्रागिरि नगरपालिकास्थित नैकाप खेलमैदानमा आज भएको सेमिफाइनल खेलमा ब्रिगेड ब्वाइज क्लबलाई १–० गोलले पराजित गर्दैैै पुलिस क्लब फाइनल प्रवेश गरेको हो ।

पुलिस क्लबका लागि कप्तान जुमानु राईले निर्णायक गोल गरेका थिए । निकै प्रतिस्पर्धात्मक तथा रोमाञ्चक बनेको खेलमा कप्तान राईले खेलको ७९औँ मिनेटमा गोल गरेका थिए । राई खेलको ‘म्यान अफ दी म्याच’ घोषित भए । उनलाई चन्द्रागिरि नगरपालिका–१३ का वडाध्यक्ष बालमुकन्द बिडारी र आयोजक दीपशिखा युवा क्लबका अध्यक्ष रवि बुढाथोकीले संयुक्त रुपमा रु पाँच हजार पुरस्कार प्रदान गर्नुभयो । पुलिस क्लब उपाधिका लागि बुधबारको सेमिफाइन विजेता टोलीसँग खेल्नेछ ।