• गृहपृष्ठ
  • नायब सुब्बाले थुपारे १५ करोड स्रोत नखुलेको सम्पत्ति

नायब सुब्बाले थुपारे १५ करोड स्रोत नखुलेको सम्पत्ति

Nov 26th, 2019

काठमाडौँ, १० मङ्सिर (रासस)

सरकारी जागिरमा प्रवेश गर्ने भनेकै नागरिकलाई सरल र सहज सेवाका लागि हो । नागरिकको सेवा गरेबापत राज्यले कर्मचारीलाई तलब सुविधा दिएको हुन्छ । तर, सरकारी सेवामा रहँदा पदीय दुरुपयोग गरेर अकुत सम्पत्ति कमाउन लाग्नेलाई नेपाली समाजले ‘पाप’ गरेको ठान्छ । यस्तै भएको छ मालपोत कार्यालय सिमरामा कार्यरत नायब सुब्बा मदनप्रसाद गुप्तालाई ।

राज्यले दिएको तलब सुविधाभन्दा गलत काम गरी अकुत सम्पत्ति थुपार्ने लोभ गरेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फेलामा परेका छन् गुप्ता । मालपोत कार्यालयको निमित्त प्रमुखको समेत जिम्मेवारी सम्हाल्नुभएका गुप्ताले २०४७ असार २७ गतेदेखि २०६४ सालसम्म वैधानिकरूपमा कमाएको भन्दा बढी स्रोत नखुलेको सम्पत्ति थुपारेको आरोपमा आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । गुप्ताको वैध आय रु चार करोड ५४ लाख ७२ हजार २४६ रहेको छ । तर आयोगले गरेको अनुसन्धानमा गुप्ताको स्रोत नखुलेको सम्पत्ति रु १४ करोड ८१ लाख ८९ हजार २३ रहेको पाइएको छ । आयोगको अनुसन्धानअनुसार गुप्ताको कूल सम्पत्ति रु १९ करोड ३६ लाख ६१ हजार १६९ रहेको छ ।

आयोगले गुप्ताकी श्रीमती रिता देवी, छोराहरु विक्की गुप्ता र रक्की गुप्ता, अवैध सम्पत्ति लुकाउन सहयोग पु¥याउने निरजकुमार गुप्ता, जुगुली प्रसाद र जगतनारायण यादव विरुद्धसमेत मुद्दा दायर गरेको छ । पदीय दुरुपयोग गरेर गुप्ताले पेट्रोल पम्प, पसललगायतमा लगानी गरेको पाइएको छ । यस्तै शान्ति सुरक्षा कायम गराउने र गलत काम गर्न रोक लगाउने नेपाल प्रहरीका कर्मचारीले नै घुस लिएको अभियोग लागेपछि आज विशेष अदालतमा मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गञ्जभवानीपुर, बारामा कार्यरत प्रहरी नायब निरीक्षक जटाशङ्करप्रसाद कलवारविरुद्ध आज मुद्दा दायर गरिएको छ । भारतबाट मालसामान ल्याउन सहज गरिदिने भन्दै उनले सोवाग्राहीबाट रु ६० हजार घुस लिएको अभियोग लागेको छ । आयोगले घुस लिएको रकम बराबरको बिगो दायर गरी मुद्दा दायर गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।