• गृहपृष्ठ
  • भौतिक पूर्वाधार मन्त्रीसँगको छलफल सकारात्मक भएपछि महासंघको धर्ना कार्यक्रम स्थगित, आन्दोलनका अन्य कार्यक्रम यथावत्

भौतिक पूर्वाधार मन्त्रीसँगको छलफल सकारात्मक भएपछि महासंघको धर्ना कार्यक्रम स्थगित, आन्दोलनका अन्य कार्यक्रम यथावत्

Nov 26th, 2019

काठमाडौं, १० मंसिर
भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङसँग मंगलवार दिउँसो भएको छलफल सकारात्मक भएपछि नेपाल निर्माण व्यवसायी महासंघले प्रधानमन्त्री कार्यालय बालुवाटारमा धर्ना दिने कार्यक्रम तत्कालका लागि स्थगित गरेको छ । प्रदेश महासंघले मुख्यमन्त्रीको कार्यालय र जिल्ला संघहरुले जिल्ला प्रशासन कार्यालयमा धर्ना दिने कार्यक्रम पनि तत्कालका लागि स्थगित गरिएको महासंघले जनाएको छ ।

प्रधानमन्त्रीको अस्वस्थतालाई समेत मध्यनजर गरी धर्ना कार्यक्रम तत्कालका लागि स्थागित गरिएको महासंघको भनाइ छ । महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधि मण्डलसँगको छलफलमा मन्त्री नेम्बाङले व्यवसायीका माग सम्बोधन गर्ने गरी ऐन नियम ल्याइने जानकारी दिनुभयो । व्यवसायी मैत्री ऐन नियम बनाउने काम भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको नभई सार्वजनिक खरिद अनुगमन कार्यालयको हो भन्दै मन्त्री नेम्बाङले व्यवसायीका लागि अनुकुल ऐन नियम बनाउन सहयोगी भूमिका खेल्ने बताउनुभयो ।

स्वदेशी निर्माण व्यवसायीलाई पाखा लगाउने सोच सरकारको नरहेको प्रष्ट पार्दै मन्त्री नेम्बाङले मुलुकको भौतिक पूर्वाधारको विकास गर्ने दायित्व स्वदेशी व्यवसायीकै भएको बताउनुभयो । सरकार सँगको वार्ता र संवादसँग सँगसँगै आन्दोलनको अन्य कार्यक्रम भने यथावत् रहेको महासंघका महासचिव रोशन दाहालले जानकारी दिनुभयो । म्याद थप, बैंक क्रेडिट लाइन, लगायतका मागहरुमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन नेपाल निर्माण व्यवसायी महासंघले आन्दोलनको पूर्व निर्धारित कार्यक्रमअ नुसार सोमबार र मंगलवार विहान साँडे ९ बजेदेखि एक घण्टा प्रधानमन्त्री निवास बालुवाटार अगाडि शान्तिपूर्ण धर्ना दिएको थियो ।