• गृहपृष्ठ
  • खानेपानी तथा सरसफाईका आयोजनाहरुमा लगानी गर्न कतार विकास कोष इच्छुक

खानेपानी तथा सरसफाईका आयोजनाहरुमा लगानी गर्न कतार विकास कोष इच्छुक

Nov 26th, 2019

काठमाडौं, १० मंसिर
कतार विकास कोष (कतार फण्ड फर डेभलपमेन्ट) ले नेपालका साना तथा मझौला खानेपानी र सरसफाइका आयोजनाहरुमा लगानी गर्न इच्छा व्यक्त गरेको छ । खानेपानी मन्त्रालय सिंहदरबारमा मंगलबार खानेपानी मन्त्री बिना मगरसँग भएको भेटघाटमा कोषका प्रतिनिधिमण्डलले खानेपानी तथा सरसफाइका आयोजनाहरुमा लगानी जुटाउने इच्छा व्यक्त गरेका हुन् । कतार फण्ड फर डेभलपमेन्टको तर्फबाट रिम अल सुलैतीको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले साना तथा मझौला आयोजनाहरुमा नेपाललाई अनुदान सहयोग गर्ने बताएको छ ।

भेटमा मन्त्री मगरले खानेपानी जस्तो विषय मानिसको आधारभूत आवश्यकतासँग जोडिएकाले कोषले देखाएको सहयोगको इच्छाप्रति टोलीलाई धन्यवाद दिईन । नेपाल सरकार कोषसँग साझेदार भई कार्य गर्न इच्छुक रहेको उहाँले बताउनुभयो । ‘आवश्यकता भएका र कार्यान्वयन गर्न सक्ने योजनाहरु छनौट गरेर हामी अघि बढ्न सक्छौं ।’ उनले भनिन, ‘चाँडो कार्यान्वयन हुन सक्ने आयोजनाहरुलाई प्राथमिकता दिएर अघि बढिरहेका छौं । कतार विकास कोषसँग मिलेर हामी सँगसँगै सहकार्य गर्न तयार छौं ।’

कोषको तर्फबाट सहभागी हुनु भएकी सुलैतीले शिक्षा र स्वास्थ्यजस्तै स्वच्छ खानेपानी र दिगो सरसफाइका लागि सहयोग गर्न कोष तयार रहेको बताईन । ‘सम्भाव्यता अध्ययन भईसकेका चाँडो कार्यान्वयनमा जान सक्ने आयोजनाहरुमा सहयोग गर्ने हाम्रो इच्छा छ ।’ सुलैतीले भनिन, ‘यस्ता आयोजनाहरुमा लगानी जुटाउन हामी अन्य साझेदारी संस्थासँग मिलेर पनि जान सक्छौं । दिगोपना, क्षमता विकास र रोजगारी सिर्जना गर्ने खालका आयोजनाहरुमा हाम्रो ध्यान केन्द्रित हुनेछ ।’