सवारी दुर्घटनामा परी चार जनाको मृत्यु

Nov 26th, 2019

काठमाडौं, मंसिर १०

पाल्पाको उदयपुर, चितवन र रामेछापको विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ । पाल्पाको रैनादेवी छहरा गाउँपालिका २ अधेरी गैरा भन्ने स्थानमा लु.२८ प ३५७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक अर्घाखाँची पाणेनी गाउँपालिका साधनबुटा बस्ने ४० वर्षीय लक्ष्मण नेपालीको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार रिप्दीकोट गाउँपालिका ३ हार्थोक बस्ने ३० वर्षीय सुदन गैरेको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

उदयपुरको ताप्ली गाउँपालिका ४ स्थित थानागाउँ भन्ने स्थानमा ना.५ त ६६०७ नम्बरको ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका पैदलयात्री सोही गाउँपालिका जतनपुर बस्ने ५१ वर्षीय होम बहादुर राना मगरको स्वास्थ्य चौकी थानागाउँमा उपचारको क्रममा सोमबार राति मृत्यु भएको छ । फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ । चितवनको भरतपुर महानगरपालिका २६ खयरघारीस्थित सडकमा ना.७ त ४७० नम्बरको ट्याक्टरबाट नवलपरासी (पूर्व) गैंडाकोट बस्ने ५५ वर्षीय खागिराम रानामगर खस्न गई सोही ट्याक्टरको पछाडीको चक्काले किच्दा उनको सोमबार राति घटनास्थलमै मृत्यु भएको छ । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रामेछापको उमाकुण्ड गाउँपालिका २ जिरोमाईलस्थित सडकमा बा.५ ख ७२५४ नम्बरको आईचर गाडीबाट लडेर गम्भीर घाइते भएका सोही गाडीमा काम गर्ने मकवानपुर मनहरी नगरपालिका ३ बस्ने ३८ वर्षीय कुमार लामाको सगरमाथा मेडिकल वम्ती हुँदै प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा थप उपचारको क्रममा सोमबार राति मृत्यु भएको छ । गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।