• गृहपृष्ठ
  • कोरला नाकामा सशस्त्रको ‘बिओपी’ स्थापना हुने

कोरला नाकामा सशस्त्रको ‘बिओपी’ स्थापना हुने

Nov 26th, 2019

ठिनी, १० मङ्सिर (रासस)

मुस्ताङस्थित चिनीयाँ सिमा कोरला नाकामा सशस्त्र प्रहरीको ‘बोर्डर आउट पोष्ट’ (बिओपी) स्थापना हुने भएको छ । कोरला नाकाको सीमा सुरक्षाका लागि लोमान्थाङ गाउँपालिका–१ नेचुङमा बिओपी स्थापना गर्न लागिएको हो । जिल्ला सुरक्षा समितिको बैठकले मङ्सिर महिनाभित्र नेचुङमा बिओपी स्थापना गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले जानकारी दिनुभयो ।

प्रहरी निरीक्षकको नेतृत्वमा ३५ सशस्त्र प्रहरीको टाली खटिनेछ । स्थायी पूर्वाधार तयार नहुँदासम्म सशस्त्र प्रहरीको टोली नेचुङ भन्सार कार्यालयको भवनमा बस्नेछन् । बिओपीको भवन निर्माणका लागि ३३ रोपनी जग्गा व्यवस्थापन गरेर भवन निर्माणका लागि बजेट विनियोजन भएको छ । भवन मर्मत गर्न लोमान्थाङ गाउँपालिकाले रु १५ लाख विनियोजन गरेको छ । हाल नेचुङमा नेपाल प्रहरीको सीमा प्रहरी चौकी छ । सशस्त्र प्रहरीको बिओपी स्थापना भएपछि कोरला नाका सञ्चालनका लागि सुरक्षाको वातावरण निर्माण हुने सांसद प्रेमप्रसाद तुलाचनले बताउनुभयो ।

कोरला नाकादेखि २६ किलोमिटर नेपालतर्फ पर्ने लोमान्थाङमा एक हजार २१७ रोपनी जग्गा व्यवस्थापन गरी गत वर्ष नेपाली सेनाको क्याम्प राखिएको थियो । नाका सुरक्षाका लागि खटिएको सशस्त्र प्रहरीको क्याम्प अहिलेसम्म सदरमुकाम जोमसोममै छ । सांसद तुलाचनका अनुसार कोरला नाकाको दशगजा नजिकै नेपालतर्फ क्वारेन्टाइन भवन निर्माण गर्न एक हजार रोपनी जग्गाको व्यवस्थापन गरिएको छ । भवन निर्माणका लागि सम्बद्ध मन्त्रालयमा पहल गरिएको सांसद तुलाचनले बताउनुभयो । कोरला नाका सञ्चालनका विषयमा राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमणका क्रममा सम्झौता भएको थियो ।

विसं २०३२ मा शुरु भएको कोरला नाका खम्पा विद्रोहपछि चिनियाँ पक्षले बन्द गरेको थियो । हाल वर्षमा दुई पटक व्यापार मेलाको समयमा मात्र नाका खुल्ने गरेको छ । कोरला नाका जोड्ने १८६ किलोमिटर दूरीको बेनी–जोमसोम–कोरला सडक स्तरोन्नतिका लागि २०७३ देखि ११ वटा प्याकेजमा आयोजना सञ्चालन भएको छ । सडक विस्तार, कालोपत्रे र मोटरेबल पुल निर्माणको काम भइरहेको छ । जम्मा ११ प्याकेजमध्य १८ किलोमिटर दूरीको छोसेर–कोरलाखण्डको सडक स्तरोन्नतिको काम मात्र सकिएको छ । जोमसोम–छुसाङखण्ड अन्तिम चरणमा पुगेको छ भने बेनी–नारच्याङ पुल र चराङ–छोसेर खण्डको काम सबैभन्दा सुस्त छ ।