डाँडाझेरी महोत्सव बिहीबारदेखि

Nov 26th, 2019

नवलपुर, १० मङ्सिर (रासस)

बुलिङ्टार गाउँपालिका, डाँडाझेरीमा पर्यटन प्रवद्र्धन र स्थानीय कृषि उत्पादनको बजारीकरणका लागि यही मङ्सिर १२ देखि १६ गतेसम्म डाँडाझेरीको भाङ्वारीमा प्रथम डाँडाझेरी महोत्सव हुने भएको छ ।

डाँडाझेरी गैँडाकोट विकास समाजले यहाँको कृषि उत्पादन र पर्यटकीयस्थलको प्रचारप्रसारका लागि महोत्सव आयोजना गर्न लागिएको जनाएको छ । समाजका अध्यक्ष दुर्गाबहादुर मसराङ्गी मगरका अनुसार सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग पु¥याउनका लागि समेत महोत्सव गर्न लागिएको हो । सदरमुकाम कावासोतीबाट करीब ४४ किलोमिटर उत्तरी भाग तथा पूर्वीनवलपुरको गैँडाकोटको कालीगण्डकी करिडरको ४० किलोमिटरको उत्तरपश्चिमको यात्रापछि डाँडाझेरी पुग्न सकिन्छ ।

बुलिङ्टार गाउँपालिकामा रहेका घुमारीघाट, झेरीखण्डे दरबार, देवचुली, वरचुली, विभिन्न जातजातिका परम्परागत लोक नृत्य ९कौडा, चुट्का० जस्ता ऐतिहासिक र सांस्कृतिक सम्पदाको संरक्षणसँगै प्रचारप्रसारका लागि महोत्सवको आयोजना गरिएको मगरले जानकारी दिनुभयो । डाँडाझेरीमा रहेको संस्कृति, परम्परा उजागार गर्नाका साथै कालीगण्डकी नदीमा जलयात्रा, राजारानी ढुङ्गाको अवलोकन, जलदेवी मन्दिरको दर्शनका साथै स्थानीय उत्पादन सुन्तला, केरा, अदुवा, अम्रिसो आदिको बजारीकरणका लागि महोत्सव महत्वपूर्ण हुने मगरले बताउनुभयो । महोत्सवमा १० कृषि उत्पादनका कक्षसहित ३० कक्ष रहने बताइएको छ ।

महोत्सव अवलोकनका लागि जाने दर्शकलाई खाना र बस्नका लागि गाउँमै व्यवस्थापन गरिएको महोत्सव प्रचारप्रसार समितिका संयोजक मनप्रसाद भाटले बताउनुभयो ।
महायज्ञबाट वृद्धाश्रम

गैँडाकोटमा सुविधासम्पन्न वृद्धाश्रम निर्माण सहयोगार्थ आयोजित श्रीमद्भागवत धनधाञ्याचल ज्ञान महायज्ञमा रु ८० लाख सङ्कलन भएको छ । यहाँको लक्ष्मीनारायण मन्दिर तथा मुक्तिनाथ भजन कीर्तन समूहले महायज्ञको आयोजना गरेका थिए ।

गैँडाकोट नगरपालिका–८ स्थित लक्ष्मीनारायण मन्दिर परिसरमा वृद्धाश्रम निर्माणसहित वैदिक हिन्दू धर्मको संरक्षण, मन्दिर परिसरको जग्गा विस्तार, सत्सङ्ग भवन निर्माण, मन्दिर निर्माण र स्थानीय जातको गाई संरक्षणका लागि भन्दै यही मङ्सिर १ गतेदेखि महायज्ञको आयोजना गरिएको थियो । महायज्ञ मूल आयोजक समितिका संयोजक घनश्याम कँडेलले वैदिक धर्मसंस्कृतिमाथि प्रहार हुने क्रम बढेकाले समाजमा धार्मिक जागरण ल्याउनसमेत महायज्ञ गरिएको बताउनुभयो ।
मङ्सिर ८ गते सकिएको महायज्ञमा गैँडाकोट–८ का विष्णुप्रसाद अधिकारीले सबैभन्दा बढी रु तीन लाख ११ हजार १११ दान गर्नुभएको कँडेलले बताउनुभयो । महायज्ञमा पण्डित दीपक सापकोटाले कथा वाचन गर्नुभएको थियो ।