• गृहपृष्ठ
  • साग–टेबल टेनिसमा सात पदक भित्र्याउने नेपालको लक्ष्य

साग–टेबल टेनिसमा सात पदक भित्र्याउने नेपालको लक्ष्य

Nov 25th, 2019

–मुना कार्की
काठमाडौँ, ९ मङ्सिर (रासस)

अर्को सातादेखि शुरु हुने १३औँँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत टेबलटेनिस खेलमा नेपालले कूल सात पदक भित्र्याउने लक्ष्य लिएको छ । सन् १९८७ भारतको कोलकातामा भएको तेस्रो संस्करणको दक्षिण एशियाली खेलकूदबाट शुरुआत गरेको टेबलटेनिस खेलमा नेपालले यसपटक एक स्वर्ण, दुई रजत र चार कास्य पदक भित्र्याउने लक्ष्य लिएको हो ।

सन् १९८४ मा नेपालबाट नै शुरुआत गरिएको दक्षिण एशियाली खेलकूद (तत्कालीन दक्षिण एशियाली महासङ्घीय खेलकूद–साफ) को शुरुआती दुई संस्करणमा भने टेबल टेनिस खेल समावेश गरिएको थिएन । त्यसयता टेबल टेनिस खेलको निरन्तर सहभागिता रहँदै आएको छ । टेबल टेनिस खेलमा हालसम्म नेपालले १९ पदक ल्याएको छ । जसमा एक स्वर्ण, तीन रजत र १५ कास्य पदक छन् । सन् १९९३ बाहेक नेपालले टेबल टेनिसमा कुनै न कुनै पदक भित्र्याएको अखिल नेपाल टेबल टेनिस सङ्घका महासचिव शङ्कर गौतमले बताउनुभयो । घरेलु मैदानमा नै हुन लागेको सागमा टेबल टेनिस खेलले उत्कृष्ट प्रर्दशन गर्ने सङ्घको विश्वास छ ।

महासचिव गौतमले अन्य देशको तुलनामा नेपाली खेलाडीले फरक तरिकाले खेल्ने भन्दै स्वर्ण जित्ने लक्ष्यसहित नेपाली टिमले तयारी गरिरहेको बताउनुभयो । उहाँका अनुसार नेपालले तीन बल एट्याकमा खेल्छ भने अन्य देश ¥याली फर्मुलामा खेल्छन् । सन् १९९१ मा श्रीलङ्काको कोलम्बोमा भएको पाँचौँ संस्करणको सागमा भारतलाई पराजित गर्दै नेपालले स्वर्ण पदक जितेको थियो । साग इतिहासमा टेबल टेनिसले हात पारेको सबैभन्दा ठूलो सफलता नै त्यही हो । त्यसयता नेपालले अहिलेसम्म स्वर्ण पदक जित्न सकेको छैन ।

पाँचाँै संस्करणको सागमा त्यतिबेला, सिर्जना शाह, पूजा थापा, गीता क्षेत्री र निलम तुलाधरले महिला टिम इभेन्टको फाइनलमा भारतलाई हराउँदै स्वर्ण जितेका थिए । यसपटकको सागमा टेबल टेनिसतर्फ विभिन्न सात विधामा प्रतिस्पर्धा हुनेछ । एकल, डबल र टिममा महिला/पुरुष दुवैको हुनेछ । महिला र पुरुषको मिक्स डबल इभेन्ट हुनेछ । सात स्वर्णका लागि प्रतिस्पर्धा हुने टेबल टेनिस खेल मङ्सिर १६ देखि २० गतेसम्म काठमाडौँको लैनचौरस्थित टेबल टेनिस हलमा हुनेछ ।

टेबल टेनिसका १० खेलाडी हाल थाइल्याण्डको बैंककमा प्रशिक्षणरत रहेका छन् । उनीहरु यही मङ्सिर ११ गते नेपाल फर्कने कार्यक्रम रहेको सङ्घले जनाएको छ । सागको लागि छनोट हुने पुरुष खेलाडीमा विनेश खनियाँ, स्यान्टु श्रेष्ठ, पुरुषोत्तम बज्राचार्य, शिवसुन्दर गोथे र सम्योग कपाली छन् ।

त्यसैगरी महिलामा रविना महर्जन, नविता श्रेष्ठ, दिक्षा तामाङ, एलिना महर्जन र सिका सुवाल छन् । “अन्य राष्ट्रले समेत लामो समयदेखि तयारी गरेकाले साग प्रतिस्पर्धात्मक हुनेछ”, महासचिव गौतमले रासससँग भन्नुभयो । सागमा नेपालबाट कूल ५९९ जना खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । जसमा ३१२ पुरुष र २८७ महिला खेलाडी छन् । त्यस्तै सागमा कूल ३२४ स्वर्ण, ३२४ रजत तथा ४८७ कास्यका लागि प्रतिस्पर्धा हुनेछ ।

उद्घाटन राष्ट्रपतिबाट र समापन प्रमबाट

नेपालले तेस्रो पटक आयोजना गर्न लागेका १३ औँै दक्षिण एशियाली खेलकूद (साग) को उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने कार्यक्रम तय भएको छ । मङ्सिर १५ गते हुने उद्घाटनमा राष्ट्रपति भण्डारीले गर्ने कार्यक्रम तय भएको युवा तथा खेलकूद मन्त्रालयका सचिव रामप्रसाद थपलियाले राससलाई जानकारी दिनुभयो । नेपालले यसअघि सन् १९८४ मा पहिलो र १९९९ मा तेस्रो साग (तत्कालीन दक्षिण एशियाली महासङ्घीय खेलकूद–साफ) को आयोजना गरिसकेको छ । यही मङ्सिर १५ देखि २४ गतेसम्म हुने सागअन्तर्गतको खेल काठमाडौँमा २१, पोखरामा आठ र जनकपुरमा एउटा खेल आयोजना हुनेछ ।