• गृहपृष्ठ
  • उर्जामन्त्री पुन र चिनको युनान प्रान्तका गर्भनरबीच भेटवार्ता : उर्जा, प्रविधी र पर्यटन क्षेत्रमा सहकार्य गर्न युनान इच्छुक

उर्जामन्त्री पुन र चिनको युनान प्रान्तका गर्भनरबीच भेटवार्ता : उर्जा, प्रविधी र पर्यटन क्षेत्रमा सहकार्य गर्न युनान इच्छुक

Nov 25th, 2019

काठमाडौं, ९ मंसिर
उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुन ‘अनन्त’ र चीनको युनान प्रान्तका गर्भनर रुएन चेङगफा (Ruan Chengfa) बीच भेटवार्ता भएको छ । सिंहदरवारस्थित उर्जामन्त्रालयमा सोमबार भएको भेटमा द्धिपक्षिय हितका साथै उर्जा क्षेत्रमा लगानी गर्नेबारे छलफल भएको थियो ।मन्त्री पुनले चिनियां राष्ट्रपति सी जिनपिङको गत महिना भएको नेपाल भ्रमणबाट दुई देशबीचको सम्बन्ध मजबुत बनेको भन्दै उच्चस्तरीय भ्रमणले जनस्तरमा समेत सम्बन्ध सुमधुर हुने विश्वास व्यक्त गर्नुभयो । ‘नेपाल र चीनबीच लामो समयदेखी राजनीतिक,प्रशासनिक र जनस्तरको सम्बन्ध रहेको छ । यसप्रकारका उच्चस्तरिय भ्रमणले चिनियाँ नागरिकलाई नेपाल भ्रमणको लागी प्रोत्साहन समेत गर्नेछ भन्ने मेरो विश्वास छ ।’ मन्त्री पुनले भेटमा भन्नुभयो ।

नेपाल भ्रमणको क्रममा आईतवार काठमाडौं आएका गर्भनर चेङगफा नेतृत्वको ८ सदस्यिय प्रतिनिधीमण्डलले उर्जामन्त्री पुनसहित मन्त्रालयका अधिकारीसंग छलफल गरेको हो । छलफलमा उर्जा क्षेत्रमा गर्ने लगानी, पर्यटन र कृषि क्षेत्रमा सहकार्य गर्ने बारेमा छलफल भएको थियो । भेटमा उर्जामन्त्री पुनले तामाकोशी जलविद्युत आयोजनामा युनानको प्रान्तिय सरकारले नै लगानी गर्ने खबर आफुले प्राप्त गरेको भन्दै अन्य जलविद्युत परियोजनामा पनि लगानी गर्न आग्रह गर्नुभयो । ‘तामोकोशी जलविद्युत परियोजनामा युनान सरकारको ८० प्रतिशत लगानी रहेको जानकारी प्राप्त भएको छ । यसमा म तपाईहरुलाई स्वागत र धन्यवाद दिन चाहन्छौ । पछिल्लो समय चीनसहित विश्वका विभिन्न देशका लगानीकर्ताहरुको संख्या धेरै छ ।’ मन्त्री पुनले भन्नुभयो । उहाँले सरकारले जलविद्युतको क्षेत्रमा उदार निती लिएको भन्दै नेपालको जलविद्युतमा थप लगानीका लागी पहल गरिदिन आग्रह समेत गर्नुभयो ।

मन्त्री पुनले भन्नुभयो ‘हामिले जलविद्युत क्षेत्रमा लचिलो निती लिएका छौं, पहिलो १० वर्षमा आयकर समेत छुट हुने प्रावधान छ । नेपालभित्र खपतको लागी बजारको विस्तार पनि हुंदै गएको छ । भारत,कोरिया र चीनलगायतका देशबाट पनि लगानीकर्ताहरु आईरहेका छन् । हामी युनानवाट पनि थप लगानी होस् भन्ने आशा राख्छौ ।’ बङगलादेश र भारतमा विद्युत व्यापारको लागी ढोका खोलेको भन्दै नेपालमा पनि बजार निमार्ण भइरहेको मन्त्री पुनको भनाई थियो । उहांले ४ वर्षभित्र ५ हजार मेगावाट विजुली उत्पादन हुने जानकारी दिंदै नेपालले जलविद्युतको क्षेत्रमा प्रगती गरिरहेको बताउनुभयो । मन्त्री पुनले सरकारले २०२० लाई भ्रमण वर्ष मनाउने निर्णय गरेको भन्दैैं युनान प्रान्तका जनतालाई नेपाल भ्रमणको लागी यो सन्देश प्रवाह गरिदिन आग्रह गर्नुभयो ।

भेटमा युनान प्रान्तका गर्भनर रुएन चेङगफाले आफु पनि चिनियाँ राष्ट्रपतिको भ्रमणपछि सम्झौता कार्यान्वयनका लागी नेपाल भ्रमणमा आएको भन्दै युनान प्रान्तको सरकार नेपालमा कृषी,उर्जा, प्रविधी र पर्यटन क्षेत्रमा सहकार्य गर्न इच्छुक रहेको धारणा राख्नुभयो । उहाँले नेपाल र चीनबीच पुरानो मित्रता रहेको भन्दै आगामी दिनमा पनि सम्बन्ध अझै मजबुत हुने विश्वास व्यक्त गर्नुभयो । गर्भनर चेङफाले तामाकोशी ३ जलविद्युत आयोजनामा युनान सरकारले लगानी गरेको भन्दै यो आयोजना सुरुवात मात्र भएको र आगामी दिनमा युनानले जलविद्युत क्षेत्रमा थप लगानी गर्ने धारणा राख्नुभयो ।

उहाँले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका क्रममा काठमाडौं–केरुङ रेलवे परियोजनाको अध्ययन गर्ने समझदारी भएको भन्दै रेलवे परियोजना निर्माणसंगै युनान प्रान्त र नेपालको व्यापारमा बृद्धि हुने विश्वास व्यक्त गर्नुभयो । युनान प्रान्तका गर्भनर चेङगफाले कुनमिङमा आयोजना हुने कुनमिङ साउथ एसिया एक्सोमा सहभागी हुन मन्त्री पुनलाई निमन्त्रणा समेत दिनुभयो ।