• गृहपृष्ठ
  • चोरी नियन्त्रण अभियानपछि तीन दिनका अवधिमा २६ लाखभन्दा बढी राजश्व सङकलन

चोरी नियन्त्रण अभियानपछि तीन दिनका अवधिमा २६ लाखभन्दा बढी राजश्व सङकलन

Nov 25th, 2019

इनरुवा, ९ मङ्सिर (रासस)

नेपाल विद्युत् प्राधिकरण इनरुवा वितरण केन्द्रले चोरी नियन्त्रण अभियान सञ्चालन गरेपछि तीन दिनका अवधिमा २६ लाखभन्दा बढी राजश्व सङकलन गरेको छ ।

तीन दिनको अवधिमा रु २६ लाख ८० हजार २२२ राजश्व सङकलन गरिएको प्राधिकरण इनरुवा वितरण केन्द्रका प्रमुख रामउदगार साहले बताउनुभयो । कार्यालयले सुनसरीको कोशी, हरिनगर, देवानगञ्ज, भोक्राहा नरसिंहलगायत गाउँपालिकामा रातिको समयमा गरिएको अनुगमनका क्रममा विद्युत् चोरी गरेर उपभोग गरिरहेका ६ जनालाई नियन्त्रणमा लिएर कारवाही गरेबापत रु ७३ हजार ५९२ राजश्व सङकलन भएको प्रमुख साहले जानकारी दिनुभयो ।

त्यसैगरी रु २४ लाख १९ हजार १३५ बक्यौता उठाउन बाँकी रहेकामा कार्यालयले जम्मा ११४ ग्राहकको लाइन कट्टा गरी ११४ र थप १४ जना ग्राहकको लाइन जडान गरेबापत असुल हुन बाँकीे र थप गरेर जम्मा रु २६ लाख ६ हजार ६३० गरेर कूल जम्मा रु २६ लाख ८० हजार २२२ तीन दिनको अवधिमा राजश्व सङकलन भएको छ ।

कार्यालयले विद्युत् चुहावट नियन्त्रण अभियानलाई तीव्रता दिएका कारण अहिले धमाधम विद्युत् चोरी गर्नेहरु नियन्त्रणमा आउन थालेका छन् । कार्यालयले १३८ ग्राहकको बन्द मिटर रहेकामा सबैलाई निःशुल्क रुपमा मिटर वितरण गरेको छ ।