• गृहपृष्ठ
  • किसान संगठनहरुको संयुक्त बैठकद्वारा देशको आधिकारिक नक्सा सार्वजनिक गर्न माग

किसान संगठनहरुको संयुक्त बैठकद्वारा देशको आधिकारिक नक्सा सार्वजनिक गर्न माग

Nov 25th, 2019

काठमाडौं, ९ मंसिर
नेपालको आधिकारिक नक्शा सार्वजनिक गर्न र नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डताको दृढतापूर्वक रक्षा गर्न तथा नेपालको कालापानी क्षेत्रबाट भारतीय सेना हटाउन सबै किसिमले अग्रसर हुन र ठोस र प्रभावकारी पहल गर्न सरकारलाई बिभिन्न किसान संगठनका नेता तथा प्रतिनिधिहरुको संयुक्त बैठकले जोडदार माग गरेको छ ।

संयुक्त बैठकमा अखिल नेपाल किसान महासंघ अध्यक्ष भैरबराज रेग्मी अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)का अध्यक्ष सीताराम तामाङ्ग, अखिल नेपाल किसान यूनियनका अध्यक्ष लोकनारायण सुबेदी, अखिल नेपाल प्रगतिशील किसान संघका नेता सुरथ चौंलागाईं तथा किसान र कृषिका समस्याबारे अनुसन्धानरत संस्था फ्याक्ट नेपालका नेता रत्नप्रसाद जोशी लगायतका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

नेपालका किसान बर्गका आधारभूत तत्कालीन र दीर्घकालीन समस्या हल नभई राष्ट्रका समस्या हल हुन सक्तैनन् भन्ने कुरामा केन्द्रित रहेर यस सम्वन्धमा किसान, कृषि तथा भूमि सम्बन्धि मूलभूत समस्याहरुको पहिचान र तिनको हल गर्ने उपायहरुका बारेमा ब्यापक छलफल गरी ठोसरुपमा किसानका मागहरु तयार गर्ने र किसान आन्दोलन अघि बढाउन पर्ने निष्कर्शमा यो संयुक्त बैठक पुगेको छ ।

यो संयुक्त बैठकमा किसान नेताहरु धनेश्वर पोखरेल, शिवहरि खनाल, अधिबक्ता रामप्रसाद भूषाल, फ्याक्ट प्रतिनिधि गंगादेवी राई समेतको उपस्थिति रहेको थियो । बैठकमा बोल्दै किसान नेताहरुले किसान बर्गका बिबिध ज्वलन्त र महत्वपूर्ण राष्ट्रिय र अन्तर्राष्ट्रिय समस्याहरुमाथि प्रकाश पारेका थिए । अर्को संयुक्त बैठकले किसान आन्दोलनको मागलाई अन्तिम रुप दिने र यसको मार्गचित्र प्रस्तुत गर्ने निर्णय लिएको छ ।