मुख्यमन्त्री शाहीद्वारा सुझाव सङ्कलन

Nov 25th, 2019

सुर्खेत, ९ मङ्सिर (रासस)

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का जिल्ला प्रमुखहरुसँग सुझाव सङ्कलन गर्नुभएको छ । कर्णाली प्रदेशअन्तर्गत नेकपाका १० वटै जिल्लाका जिल्ला इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष र सचिवहरुबाट उहाँले सुझाव लिनुभएको हो ।

मुख्यमन्त्री शाहीले प्रदेश सरकार सञ्चालनका क्रममा देखापरेका समस्या र प्रभावकारी सञ्चालनका सन्दर्भमा प्रदेश राजधानी सुर्खेतमा दुई दिनसम्म अन्तक्र्रिया गर्नुभएको थियो । अन्तक्र्रियाका क्रममा उहाँले सरकारको सफलताका लागि पार्टी र सरकारबीच आपसी समन्वय तथा सहयोग आदानप्रदानलाई प्रभावकारी बनाउनुपर्ने धारणा राख्नुभएको थियो । पार्टी एकतापछि पहिलोपटक भएको सो अन्तक्र्रिया कार्यक्रमको पहिलो दिन जिल्ला अध्यक्ष तथा सचिवले सुझाव दिएका थिए । दोस्रो दिन जिल्ला इञ्चार्ज तथा सहइञ्चार्जले सरकारले सम्बोधन गर्नुपर्ने विषय, सरकार सञ्चालनका क्रममा देखापरेका समस्या र समाधानका विषयमा सुझाव दिएका थिए ।

रुकुम पश्चिमका इञ्चार्ज राजकुमार शर्माले पार्टी र सरकार दुवैले जनदिशा भुल्न नहुने, टोली समूहमा काम गर्नुपर्ने, सरकार सञ्चालनमा कुशलता देखाउनुपर्नेलगायत सुझाव दिइएको बताउनुभयो । “पार्टी र सरकारको नेतृत्वबीचको बुझाइमा एकरुपता कायम हुन आवश्यक छ”, उहाँले भन्नुभयो, “अन्तक्र्रियाले सरकारको कार्यसम्पादनलाई प्रभावकारी बनाउन सहयोग पुग्ने छ ।”

नेकपा सुर्खेतका सचिव कृष्ण जिसीले नेकपाको नेतृत्वमा गठित सरकार असफल हुँदा समग्र कम्युनिष्ट आन्दोलनप्रति नै जनताको वितृष्णा बढने बताउनुभयो । जनमुखी कामका लागि सरकारलाई रचनात्मक सहयोग गर्न मुख्यमन्त्री शाहीले जिल्ला नेताहरुसँग गरेको अन्तक्र्रियाले पार्टी र सरकार दुवैलाई मद्दत पुग्नुका साथै जनतामा राम्रो सन्देश पुग्ने उहाँको भनाइ थियो । अन्तक्र्रियामा सहभागी नेकपा रुकुम पश्चिमका अध्यक्ष गोपाल शर्माले सरकार र पार्टीका सबै तहका अङ्गलाई जनताको आधारभूत जीवनमा प्रभाव पर्ने कार्यक्रम अगाडि बढाउन सुझाव दिइएको बताउनुभयो । उहाँले अन्तक्र्रियाबाट पार्टी र सरकार दुवैको दृष्टिकोण समाजवाद निर्माणको दिशामा परिचालन गर्ने निष्कर्ष निकालिएको उल्लेख गर्नुभयो ।