सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु

Nov 24th, 2019

काठमाडौं, ८ मंसिर
ललितपुर, सप्तरी, दोलखा, बाँके, धनुषा र कञ्चनपुरका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु भएको छ ।

ललितपुर, ललितपुर महानगरपालिका-११ युएन पार्कस्थित सडकमा बा.९१ प १३०१ नम्बर र बा.७७ प ६७९३ नम्बरका मोटरसाइकल शनिबार दिउँसो एक-आपसमा ठक्कर खाई दुर्घटना हुँदा गम्भीर घाइते भएका बा.७७ प ६७९३ नम्बरको मोटरसाइकल चालक काठमाडौं चाबहिल घर भएका २२ वर्षीय सत्यम भट्टराईको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । बा.९१ प १३०१ नम्बरको मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सप्तरी, हनुमाननगर कंकालिन नगरपालिका-४ मधुवापुरस्थित भित्री सडकमा स.१ त ७४२० नम्बरको ट्याक्टरको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ११ वर्षीय शंकर साहको शुक्रबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ । फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

दोलखा, भिमेश्वर नगरपालिका-५ स्थित सडकमा बा.२ ख ६२०४ नम्बरको बसबाट लडेर गम्भीर घाइते भएकी सोही ठाउँ बस्ने ३० वर्षीया उर्मिला श्रेष्ठको प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटमा उपचारको क्रममा शुक्रबार साँझ मृत्यु भएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बाँके, कोहलपुर नगरपालिका-११ चौराहास्थित सडकमा भे.८ प ९६७८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार बिहान दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २६ वर्षीय अर्जुन खत्रीको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक कोहलपुर नगरपालिका-११ बस्ने १८ वर्षीय निराजन खत्रीको सोही अस्पतालमा उपचार भइरहेको छ ।

धनुषा, गणेशमान चारनाथ नगरपालिका-६ गोदारस्थित बिआर ३२ यू १७०३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक हाल नाम, थर, वतन नखुलेको अन्दाजी ३५ वर्षीय पुरुषको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको छ ।

यसैगरी धनुषा, बिदेह नगरपालिका-८ बफै पुलस्थित भित्री सडकमा स.८ प ७५७३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शुक्रबार राति भत्किएको बफैपुलबाट करिब १० फिट तल पानीमा खस्दा मोटरसाइकल चालक हाल नाम, थर, वतन नखुलेको अन्दाजी २० वर्षीय पुरुषको घटनास्थलमै मृत्यु भएको छ ।

कञ्चनपुर, कृष्णपुर नगरपालिका-२ बाणीस्थित सडकमा हाल नम्बर नखुलेको स्कार्पियो जिपको ठक्करबाट गम्भीर घाइते भएका बाजुरा गहुँमल गाउँपालिका-२ बस्ने ३० वर्षीय राम बहादुर रोकायालाई पद्मा अस्पताल हुँदै थप उपचारको लागि सेती प्रादेशिक अस्पताल लैजाने क्रममा शुक्रबार राति बाटोमै मृत्यु भएको छ । साथै सोही जिपको ठक्करबाट घाइते भएका कञ्चनपुर महाकाली नगरपालिका-२ बस्ने २८ वर्षीय राम बहादुर ठगुन्नाको बाणीस्थित स्थानिय मेडिकलमा उपचार भइरहेको छ । ठक्कर दिने जिपको प्रहरीले खोजी गरिरहेको छ ।
दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।