‘सामुद्रिक डाँकू’द्वारा आत्मसमर्पण

Nov 24th, 2019

बङ्गलादेश, ८ मङ्सिर (रासस/एएफपी)

बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्रमा भएको एक औपचारिक कार्यक्रममा झण्डै १०० ‘सामुद्रिक डाँकू’ले शान्त जीवन जीउने प्रतिवद्धतासहित शनिबार आत्मसमर्पण गरेका यहाँको प्रहरीले जनाएको छ ।

उनीहरूले १५५ थान घरेलु बन्दूकसहित त्यसका लागि प्रयोग हुने ३०० राउण्ड गोली र बन्दूक बनाउने उपकरणसहित प्रहरीप्रशासनसँग आत्मसमर्पण गरेका बताइएको छ ।

“आत्मसमर्पणपछि प्रहरीले उनीहरूलाई नयाँ जीवन सुरू गर्न पुनःवास कार्यक्रम अन्तर्गत प्रतिव्यक्ति ५० हजार टाका (५९० अमेरिकी डलर) उपलब्ध गराएका छौँ,” प्रहरी प्रमुख मसुद होसैनले भन्नुभयो ।

सामुद्रिक डाँकूहरूले बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्रमा हत्या, अपहरण, बलात्कार, जहाज तथा डुङ्गा अपहरण गरी यात्रुहरूलाई लुट्ने गरेका प्रहरीले जनाएको छ ।

उनीहरूलाई आम माफी नहुने तर सजायमा केही छुट हुनसक्ने होसैनले बताउनुभयो । आत्मसमर्पणका लागि प्रशासनले गरेको कार्यक्रममा उनीहरूले आफूहरूलाई दुःख दिने गरेको स्थानीय माझीहरूले बताएका थिए । आत्मसमर्पण गरेका उनीहरूले सार्वजनिक कार्यक्रममा पूरानो काममा नफर्किने वाचा गरेका थिए ।