• गृहपृष्ठ
  • नेपालीलाई अब युरोप र अमेरीका घुम्न कठिन, विदेश जादा लान पाइने रकममा राष्ट्र बैंक झनै कठोर

नेपालीलाई अब युरोप र अमेरीका घुम्न कठिन, विदेश जादा लान पाइने रकममा राष्ट्र बैंक झनै कठोर

Nov 24th, 2019

काठमाडौं, ८ मंसिर
नेपाल राष्ट्र बैंकले विदेश जादा नेपालबाट लान पाइने डलरमा थप कटौति गरेको छ । जसले नेपालीहरुको युरोप र अमेरीकी मुलुकको भ्रमण कठिन बनाएको छ । युरोप र अमेरीकाका लागि टिकटमै एक हजार देखि १२ सय डलर खर्चनु पर्छ । राष्ट्र बैंकले भने अब विदेश जानका लागि एक ब्यक्तिले जम्मा १५ सय डलर मात्रै सटही गर्न पाउने व्यवस्था गरेको छ ।

यसअघि ट्राभल एजेन्सीलाई तिरेको बाहेक १५ सय अमेरीकी डलरसम्म डलर साट्न पाइनेमा अब ट्राभल एजेन्सीलाई बुझाउने रकम सहित १५ सयमात्रै साट्न पाइने व्यवस्था गरिएको छ । जसले युरोपीयन मुलुक र अमेरीकन मुलुकको भ्रमण प्राय असम्भव जस्तै बनाएको छ । गत वर्षको अन्त्सम्ममा मुलुक ६७ अर्ब ४० करोड घाटामा थियो । तर आयातमा आएको कमी र विदेश घुम्न जानेहरुले लाने रकममा गरेको कडाइले मुलक अहिले १४ अर्ब ४३ करोड बचतमा छ ।

गत वर्षको साउन महिना देखि सोधानान्तर घाटा बढ्न सुरु गर्याे । जसलाई रोक्न सरकारले गत वर्षकै कात्तिकमा विदेश घुम्न जानेहरुले पाउदै आएको २५ सय डलर सटहीको सुविधालाई १५ सयमा सिमित गर्याे । अहिले एक पासपोर्ट बापत १५ सय डलर सटही गर्न पाइन्छ । जसमा ट्राभल एजेन्सीलाई बुझाएको रकम जोडिदैन । तर बिहिबार राष्ट्र बैंकले एक निर्देशन जारी गर्दै ट्राभल एजेन्सीलाई बुझाएको रकम सहित १५ सय डलर सटही गर्न पाउने व्यवस्था गरेको छ । यसअघि एक व्यक्तिले ट्राभल एजेन्सीलाई एक हजार डलरसम्म बुझाउँदै आएका थिए ।

राष्ट्र बैंकको नयाँ व्यवस्था अनुसार अब विदेश जानेले आफुले खर्च गर्नेगरि जम्मा ५ सय डलर मात्रै लान पाउने देखिन्छ । यसअघि ट्राभल एजेन्सी मार्फत जाने र एक्लै जानेले पाउने डलर सटही सुविधामा लगभग एक हजारको फरक थियो । किनकी एजेन्सीका सहयोगमा जानेले प्रतिपासपोर्ट बाहेक ट्राभल एजेन्सीलाई बुझाउनको लागि एक हजारसम्म सटही सुविधा पाउथे । तर एक्लै जानेलाई भने प्रतिपासपोर्ट बाहेक अन्य रकम सटहीको सुविधा थिएन ।

सटही सुविधामा गरिएको कडाईले अब अवैध रुपमा डलर सटही हुने जोखिम बढाएको व्यवसायीहरु बताउँछन् । जसमा भने राष्ट्र बैंक समयमै सचेत हुनपर्छ । साथै सोधानान्तर बचतका लागि निर्यातमा बृद्धि र रेमिट्यान्स बृद्धिको पनि उपाय अवलम्बन गर्न जरुरी छ ।