सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु

Nov 22nd, 2019

काठमाडौं, ६ मंसिर

सिरहा, बारा, दाङ र नवलपरासी९पूर्व० का विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ । सिरहा, लहान नगरपालिका-१२ भोटिया चोकस्थित सडकमा ना.१ ज ८३७५ नम्बरको गाडीले स.४ प ६०४५ नम्बरको मोटरसाइकललाई बिहीबार दिउँसो ठक्कर दिई दुर्घटना हुँदा गम्भीर घाइते भएका उक्त गाडीका सहचालक महोत्तरी लोहरपट्टी नगरपालिका-४ खुट्टा पिपरारी बस्ने छोटु भन्ने १६ वर्षीय सरोज यादवलाई उपचारको लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार २ जनाको रामकुमार सारडा उमाप्रसाद मुरारक स्मारक अस्पताल लहानमा उपचार भइरहेको छ । गाडीका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बारा, जितपुर सिमरा उपमहानगरपालिका-२२ स्थित सडकमा ना.५ ख ९०५५ नम्बरको ट्रकले ना.४६ प २५०४ नम्बरको मोटरसाइकललाई बिहीबार दिउँसो ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार चन्द्रपुर नगरपालिका-८ सन्तपुर बस्ने २६ वर्षीया तिर्थ कुमारी राई र उनको छोरा १ वर्षीय आहान चौधरीको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक मृतकका श्रीमान २८ वर्षीय राकेश चौधरीको चुरेहिल अस्पताल हेटौंडामा उपचार भइरहेको छ । फरार ट्रक चालकको प्रहरीले खोजी गरिरहेको छ ।

यसैगरी बारा, जितपुर सिमरा उपमहानगरपालिका-१ पूर्व टोलस्थित सडकमा ना.४ ख ५३२० नम्बरको बसले ना.११ प ५४७८ नम्बरको मोटरसाइकललाई बिहीबार दिउँसो ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक निजगढ नगरपालिका-१ बस्ने ६० वर्षीय आईतमान लोप्चनलाई अल्पाईन अस्पताल सिमरा हुँदै थप उपचारको लागि नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ ।
दाङ, लमही नगरपालिका-६ बेलदमारस्थित सडकमा रा.१ ख १२७१ नम्बरको टिपरले रा.१ ब ४८७ नम्बरको मोटरसाइकललाई बिहीबार साँझ ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक घोराही उपमहानगरपालिका-३ बेलुवा बस्ने ५८ वर्षीय बन्धुराम थारुको उपचारको लागि लमही अस्पताल लमहीतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । फरार टिपर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

नवलपरासी(पूर्व), त्रिबेणी गाउँपालिका-३ स्थित भित्री सडकमा लु.२ ख २४१५ नम्बरको टिपरको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ४२ वर्षीया बिष्णु माया बस्यालको बिहीबार साँझ घटनास्थलमै मृत्यु भएको छ । फरार टिपर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।