• गृहपृष्ठ
  • धादिङको विकट हिमाली क्षेत्र लापामा नयाँ प्रहरी चौकी स्थापना

धादिङको विकट हिमाली क्षेत्र लापामा नयाँ प्रहरी चौकी स्थापना

Nov 22nd, 2019

धादिङ, ६ मंसिर
धादिङ जिल्लाको उत्तरी विकट हिमाली क्षेत्र रुवीभ्याली गाउँपालिका-५ लापामा नयाँ प्रहरी चौकी स्थापना भएको छ । नेपाल सरकार मन्त्री परिषदको गत असोज ७ गतेको निर्णयले उक्त चौकी थप निकासा भई आएको हो ।

धादिङ जिल्लाका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ, जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक ‍राज कुमार बैदवार र रुवीभ्याली गाउँपालिकाका प्रमुख चेरोङ तामाङले बिहीबार आयोजित कार्यक्रममा उक्त प्रहरी चौकीको संयुक्त रुपमा उद्घााटन गर्नुभयो ।

भौगोलिक कठिनाइको कारण संवेदनशिल मानिएको उक्त क्षेत्रमा प्रहरी चौकी स्थापना भएबाट त्यहाँका नागरिकले सहज रुपमा प्रहरी सेवा प्राप्त गर्न सक्ने जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक ‍राज कुमार बैदवारले बताउनुभयो । सेवासँग सँगै शान्ति सुरक्षा र अपराध नियन्त्रण गरी सुरक्षित समाज निर्माणमा महत्वपूर्ण योगदान पुग्ने उहाँले उल्लेख गर्नुभयो ।

कार्यक्रममा राष्ट्रिय अनुसन्धान विभागका उप-निर्देशक मुकुन्द मरहठा, रुवीभ्याली गाउँपालिकाका पदाधिकारीहरु, प्रहरी अधिकृतहरु, स्थानीय जनप्रतिनिधिहरु, स्थानीय बासिन्दाहरु लगायतको उपस्थिति रहेको थियो ।