छयानब्बे जना कैदीबन्दी स्थानान्तरण

Nov 22nd, 2019

चितवन, ६ मङ्सिर (रासस)

कारागार कार्यालय चितवनमा कैदीबन्दीको चाप बढ्दै गएपछि स्थानान्तरणको प्रक्रियालाई तीव्र पारिएको छ ।

कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेका अनुसार चालू आवमा विभिन्न मितिमा गरी ९६ जना कैदीबन्दीको यहाँबाट स्थानान्तरण गरिएको छ । पछिल्लो पटक कात्तिक ३० गते १२ महिला र पाँच पुरुष गरी १७ जनालाई कारागार कार्यालय पाल्पा पठाइएको छ । जसमा महिलासँगै एक आश्रित बच्चा पनि रहेको उहाँले बताउनुभयो ।

कार्यालयमा कैदीबन्दीको चाप बढेसँगै उनीहरुलाई स्थानान्तरण गरिएको काफ्लेले जानकारी दिनुभयो । यसअघि भदौ ५ गते वीरगञ्ज कारागारमा २४, कात्तिक ३ गते मकवानपुरको भीमफेदी कारागारमा ५४ र कास्कीमा एकजना स्थानान्तरण गरिएको थियो । कारागारको क्षमता पुरुषतर्फ २५५ र महिलाको २५ जना रहेको छ । अहिले यस कारागारमा ६३ महिला र ७०९ जना पुरुष रहेका छन् ।

छिमेकी जिल्ला मकवानपुरमा महिला बन्दीगृह नहँुदा र नवलपुरमा अदालत स्थापना भए पनि कैदीबन्दी राख्नका लागि कारागार नहुँदा चितवनमा चाप बढेको उहाँले बताउनुभयो । अहिले कारागारमा कैदीबन्दी राख्नका लागिसमेत समस्या पर्ने गरेको र सुताउनका लागि ठाउँसमेत साँघुरो हुँदै गएको छ ।

प्राकृतिक चिकित्सालय स्थापना

भरतपुर महानगरपालिका–४ मा प्राकृतिक चिकित्सालय सञ्चालनमा आएको छ । नेट फ्रेस हस्पिटलको नाममा सेवा सञ्चालनमा ल्याइएको हो । प्राकृतिक चिकित्सा विधिबाट बिरामीको उपचार गराइने सो अस्पताल जिल्ला आयुर्वेद अस्पतालसँग १० श्ययाको अनुमति लिई केन्द्रीय सरकारसँगको अनुमति प्रक्रियासँगै सञ्चालनमा ल्याइएको सञ्चालकहरुले जनाएका छन् ।

अस्पतालका अध्यक्ष गोविन्द हुमागाईं बिना औषधि प्राकृतिक एवं अन्य प्रविधिबाट बिरामीलाई सेवा दिने उद्देश्यका साथ अस्पताल सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो । हुमागाईंले योग, ध्यान जस्ता आफ्नै मौलिक विधिहरुको स्थापना एवं प्रोत्साहन गर्दै दीर्घरोगको दिगो समाधानका लागि अस्पताल सञ्चालनमा ल्याइएको बताउनुभयो ।

यस अस्पतालमा ढाड, कम्मर, गर्धन दुख्ने, युरिक एसिड, बाथ, हड्डी खिइएको, नसा च्यापिएको, प्यारालाइसिस, पिनास, टाउको दुख्ने, माइग्रेन, एलर्जी दम जस्ता रोगहरुको उपचार हुनेछ । व्यक्तिको नाममा रहेको तीन बिगाह जग्गा भाडामा लिई अस्पताल सञ्चालनमा ल्याइएको हो । तीनजना चिकित्सकसहितको समूहले रु दुई करोड लगानी गरी आवासीय सुविधासहितको अस्पताल सञ्चालनमा ल्याइएको हो ।

अस्पताल परिसरमा अहिले १६७ जातका जडीबुटी लगाइएको हुमागार्इंले जानकारी दिनुभयो । भविष्यमा सात प्रदेशमा नै अस्पताल खोल्ने उद्देश्यका साथ यस नेट फ्रेस हस्पिटल सञ्चालनमा ल्याइएको हो । यस अस्पताललाई केन्द्रविन्दु मानी प्रकृतिक चिकित्साको कलेज खोल्ने योजनाका साथ काम अघि बढिरहेको अस्पतालका प्रबन्ध निर्देशक डा भवानचन्द्र ज्ञवालीले जानकारी दिनुभयो ।