• गृहपृष्ठ
  • सिरियाली शरणार्थीका लागि नर्वेद्वारा लेवनानलाई सहयोग

सिरियाली शरणार्थीका लागि नर्वेद्वारा लेवनानलाई सहयोग

Nov 22nd, 2019

बेरूत, ६ मङ्सिर (रासस/सिन्ह्वा)

नर्वेले लेबनानमा शिविरमा बस्दै आएका सिरियाली शरणार्थीको सहयोगका लागि बार्षिक चार करोड अमेरिकी डलर बराबरको रकम उपलब्ध गराउने भएको छ ।

लेबनानी सञ्चारमाध्यमका अनुसार लेबनानका लागि नर्वेका राजदूत लेनी स्टेनसेथले बिहीबार उक्त सहयोगको घोषणा गर्नुभएको हो ।

लेबनानलाई आर्थिक सहयोग गर्ने मुलुकहरूको सूचीमा नर्वे पाँचौँस्थानमा भएको र नर्वेले अन्य देशमा रहेका सिरियाली शरणार्थीको सहयोगका लागि दिँदै आएको रकमको तुलनामा यो सहयोग दोब्बर बढी भएको स्टेनसेथलाई उद्धृत गर्दै लेबनानी सञ्चारमाध्यमले लेखेका छन् ।

लेबनानमाथि सिरियाली शरणार्थीका कारण परेको भार कम गर्न नर्वेले उक्त रकम उपलब्ध गराएको स्टेनसेथले लेबनानी स्वतन्त्र अनलाइन पत्रिका इल्नास्रालाई बताउनुभयो ।

लेबनानस्थित संयुक्त राष्ट्रसंघ शरणार्थीका लागि उच्च आयुक्तको कार्यालयले लेबनानमा रहेका सिरियाली शरणार्थीको सङ्ख्या १० लाख भन्दा बढी पुगेको बताएको छ भने लेवनानी सरकारले १५ लाख सिरियालीलाई आफ्नो देशमा शरण दिँदै आएको बताएको छ ।