• गृहपृष्ठ
  • स्काभेटरमा आगजनी गरिएकोमा महासंघको कडा आपत्ति, दोषीलाई कारवाहीको माग

स्काभेटरमा आगजनी गरिएकोमा महासंघको कडा आपत्ति, दोषीलाई कारवाहीको माग

Nov 21st, 2019

काठमाडौं, ५ मंसिर
सिन्धुलीको दूधौली नगरपालिका–१३ अरुणठाकुरमा सडक निर्माणमा प्रयोग भइरहेको निर्माण व्यवसायी छेत्रबहादुर बम्जनको स्काभेटरमा अज्ञात समुहबाट आगजनी गरिएको घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ । महासंघले विहिवार विज्ञप्ति जारी गरी व्यवसायी र उनीहरुको उपकरणको सुरक्षालाई लिएर सरोकारवाला निकायहरुको पटक पटक ध्यानाकर्षण गराउँदा समेत यस्ता घटना दोहोरिनु ठूलो चिन्ताको विषय भएको जनाएको छ ।

“विविध चुनौतिका बाबजुद निर्माण कार्यमा अहोरात्र खटिने व्यवसायीहरुलाई पेशाबाट नै पलायन गर्ने गरी भएको यस आततायी घटनाको महासंघ कडा शब्दमा निन्दा गर्दछ” महासंघका महासचिव रोशन दाहालद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । महासंघले घटनामा संलग्नलाई तत्काल पक्राउ गरी कडा भन्दा कडा सजाय दिन गृह प्रशासन समक्ष आग्रह गर्दै देशभरका निर्माण व्यवसायी सहित उनीहरुको उपकरणको सुरक्षाको पूर्ण प्रत्याभूति गर्न जोडदार माग गरेको छ ।

व्यवसायीहरुको संयमतालाई कमजोरी नठान्न आग्रह गर्दै महासंघले व्यवसायीहरु माथिको अन्याय, अत्याचार नरोकिए पेशागत सुरक्षाका लागि देशभरको निर्माण कार्य ठप्प पार्दै सशक्त आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी समेत दिएको छ ।