• गृहपृष्ठ
  • तीन महिनामा तीन खर्ब सात अर्ब रुपैयाँको व्यापार घाटा

तीन महिनामा तीन खर्ब सात अर्ब रुपैयाँको व्यापार घाटा

Nov 21st, 2019

काठमाडौं, ५ मंसिर
चालु आर्थिक वर्षको असोज मसान्तसम्म नेपालले तीन खर्ब सात अर्ब ७८ करोड रुपैयाँको व्यापार घाटा बेहोेरेको छ । आज बिहिबार सार्वजनिक गरेको प्रतिवेदन राष्ट्र बैंकको मुलुकको वित्तीय अवस्था सम्वन्धी प्रतिवेदन अनुसार चालु आ.वको तीन महिनामा उक्त व्यापार घाटा भएको हो । चालु आ.वको पछिल्लो तीन महिनामा बस्तुु निर्यात भने १४ दसमलव चार प्रतिशतले बढेर २७ अर्ब १७ करोड पुगेको छ । यसअवधिमा बस्तु आयात भने १० दसमलव तीन प्रतिशतले घटेर तीन खर्ब ३४ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ । तीन महिनामा व्यापार घाटा तीन खर्ब सात अर्बमा सिमित रहेको छ । राष्ट्र बैंकका अनुसार गन्तव्यका आधारमा भारततर्फको निर्यात ३५ दसमलव आठ प्रतिशतले बढे पनि चीन तर्फको निर्यात १९ दशमलव नौ प्रतिशत र अन्य मुलुकतर्फको निर्यात ११ दशमलव सात प्रतिशतले घटेको छ । वस्तुगत आधारमा पाम तेल, अलैंची, आयुर्वेदिक औषधि, जुटका सामान, धागो (पोलिष्टर तथा अन्य) लगायतका वस्तुको निर्यात बढ्दा जस्तापाता, जुस, तयारी पोशाक, ऊनी गलैँचा, तार लगायतका वस्तुहरुको निर्यात घटेको छ ।

आयात गरिने मुलुकका आधारमा भारत तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १२ दशमलव दुई प्रतिशत र १९ दशमलव एम प्रतिशतले घटेको छ । चीनबाट भएको आयात ११ दशमलव ६ प्रतिशतले बढेको प्रतिवेदनमा उल्लेख छ । वस्तुगत आधारमा कच्चा पाम तेल, हटरोल सिट, अन्य मेसिनरी तथा पाटपुर्जा, विद्युतीय उपकरण, सोलार प्यानल लगायतका वस्तुको आयात बढ्दा हवाईजहाज तथा पार्टपुर्जा, एम.एस. बिलेट, पेट्रोलियम पदार्थ, सुन, यातायातका उपकरण तथा पार्टपुर्जा लगायतका वस्तुहरुको आयात घटेको प्रतिवेदनमा उल्लेख छ ।