• गृहपृष्ठ
  • साग खेलकूदका आवश्यक पूर्वाधार एक हप्ताभित्र तयार हुने

साग खेलकूदका आवश्यक पूर्वाधार एक हप्ताभित्र तयार हुने

Nov 21st, 2019

–मुना कार्की
काठमाडौँ, ५ मङ्सिर (रासस)

यही मङ्सिर १५ देखि २४ गतेसम्म काठमाडौँ, पोखरा र जनकपुरमा आयोजना हुने १३ आँै दक्षिण एशियाली खेलकूद (साग)का निम्ति आवश्यक पर्ने भौतिक पूर्वाधार द्रुतगतिमा निर्माण भइरहेका छन् । यसै साताभित्र ती सबै पूर्वाधार निर्माण भइसक्ने जनाइएको छ ।

उद्घाटन र समापनका लागि मुख्यस्थलका रुपमा रहेको दशरथ रङ्गशाला, सातदोबाटोको पौडी पोखरी र पोखरा रङ्गशाला निर्माणको सम्पूर्ण काम यही मङ्सिर १२ गतेभित्र सम्पन्न हुने युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले राष्ट्रिय समाचार समिति (रासस)लाई बताउनुभयो ।

“बुधबारदेखि दशरथ रङ्गशालाको ‘भिआइपी’तर्फको छानो हाल्ने काम शुरु भएको छ, अन्य निर्माणको काम अन्तिम चरणमा पुगिसकेको छ”, खेलकूद मन्त्री विश्वकर्माले भन्नुभयो । उहाँका अनुसार साधारण प्यारापिटतर्फको भने यसअघि नै छानो हाल्ने काम सकिएको छ । अहिले साधारण प्यारापिटतर्फ कुर्सी हाल्ने काम अन्तिम चरणमा पुगेको छ । भिआइपीतर्फ भने छानो हाल्ने काम सकिएपछि मात्रै कुर्सी हाल्ने काम शुरु हुनेछ ।

दशरथ रङ्गशालाको भिआइपीतर्फको छानो एक हप्ताअघि काठमाडौँ आइपुगेको थियो । स्थलमार्ग हुँदै छानो ल्याउने सम्भावना नभएपछि चिनियाँ विमानमार्फत कार्गो गरेर एक हप्ताअघि नेपाल आइपुगेको थियो । भिआइपी प्यारापिटतर्फको छानो चीनमा तयार भएर आएको हो ।

भिआइपीतर्फको छानो र ट्रस हाल्ने काम सँगसँगै अघि बढेकाले अबको तीन/चार दिनभित्र उक्त काम सकिनेछ । निर्धारित समयमा दशरथ रङ्शशाला तयार नभएपछि अहिले बिहान र बेलुका गरी दुई चरणमा करीब २०० भन्दाबढी कामदार खटिरहेको मन्त्री विश्वकर्माले बताउनुभयो ।

विसं २०७२ को भूकम्पले दशरथ रङ्गशालालगायतको खेल संरचना क्षतिग्रस्त बनेको थियो । दशरथ रङ्गशालाको गेट निर्माण, रङ्गरोगन र सजावटका काम भइरहेका छन् । यता सातदोबाटोमा रहेको पौडी पोखरीको निर्माण कार्य पनि छिट्टै सकिनेछ ।

दशरथ रङ्गशालामा सागको उद्घाटन र समापन समारोहबाहेक पुरुष फुटबल र एथ्लेटिक्स खेल हुनेछ । यस्तै पोखरामा निर्माणाधीन रहेको रङ्गशालाको प्यारापिट जोड्ने काम भइरहको राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले जानकारी दिएको छ । राखेपका अनुसार निर्माणाधीन मैदानका लागि आवश्यक ‘स्टिल मोडुलर ग्रान्डस्ट्याण्ड’ दुई दिनअघि पोखरा पुगेको हो । अबको पाँच दिनभित्र सबै निर्माण कार्य सम्पन्न हुनेछ ।

राष्ट्रको सबैभन्दा ठूलो प्रतियोगिताका रुपमा रहेको १३औँ सागका लागि झण्डै साढे चार अर्ब बजेट छुट्याएको छ । पूर्वाधार निर्माणका लागि रु एक अर्ब ६२ करोड तथा प्रतियोगिता आयोजनाका लागि रु तीन अर्ब ६५ करोड बजेट रहेको छ ।

नेपालले नै दोस्रोपटक आयोजना गरेको आठौँ सागमा ल्याएको ऐतिहासिक सफलतालाई १३औँ सागमा पुनरावृत्ति गर्ने सरकारको लक्ष्य छ । सन् १९९९ मा घरेलु मैदानमा भएको आठौँ साफमा नेपालले ३१ स्वर्ण जित्दै दोस्रो स्थान हात पारेको थियो ।

त्यतिबेला नेपालले आयोजकका नाताले तेक्वान्दो र कराते खेललाई प्रतियोगितामा समावेश गरेको थियो । कराते र तेक्वान्दोबाट समान १४/१४ स्वर्ण जितेको थियो । नेपाल कूल ३१ स्वर्ण, १० रजत र २४ कास्यसहित ६५ पदक जितेर दोस्रो स्थानमा रहन सफल भएको थियो ।

सन् १९८४ मा नेपालबाट शुरुआत भएको दक्षिण एशियाली खेलको तेह्रौँ संस्करण करीब २० वर्षपछि नेपालले तेस्रोपटक आयोजना गर्न लागेको हो ।

पूर्वाधारपछि महत्वपूर्ण रहेको सुरक्षामा समेत कुनै कमजोरी नहुने गरी व्यवस्थापनको तयारी गरिएको राष्ट्रिय खेलकूद परिषद् (राखेप) का सदस्य सचिव रमेश सिलवालले बताउनुभयो । उहाँका अनुसार प्रतियोगिताका लागि २० हजार हाराहारीमा सुरक्षाकर्मी तथा दुई हजार स्वयंसेवक परिचालन गरिने र १५ हजारको सहभागितामा भव्यताका साथ सागको उद्घाटन हुनेछ ।

सागअन्तर्गतको काठमाडौँमा २१, पोखरामा नौ र जनकपुरमा एउटा खेल आयोजना हुनेछ । प्रतियोगितामा कूल ३२४ स्वर्ण, ३२४ रजत तथा ४८७ कास्यका लागि प्रतिस्पर्धा हुनेछ ।