• गृहपृष्ठ
  • सीमाको विषयमा सरकार गम्भीर बन्नुपर्छ : नेता बोहरा

सीमाको विषयमा सरकार गम्भीर बन्नुपर्छ : नेता बोहरा

Nov 21st, 2019

तुलसीपुर, ५ मङ्सिर (रासस)

राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता दीपक बोहराले भारतले सीमा मिचेको विषयमा सरकार गम्भीर बन्नुपर्ने बताउनुभएको छ । रिपोर्टर्स क्लब दाङले बिहीबार तुलसीपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले यस्तो बताउनुभयो ।

भारतले लिम्पियाधुरा, लिपुलेक, कालापानी मिचेर नक्सा सार्वजनिक गरेको भन्दै यसमा सरकार गम्भीर बन्नुपर्ने बताउनुभयो । “पहिलोपटक सर्वदलीय बैठकले सरकारलाई समर्थन गरेको छ, यस्तो अवस्थामा पनि सरकारले भारतसँग वार्ता गर्न सकेको छैन”, उहाँले भन्नुभयो । उहाँले अहिले नेपालमा जबरजस्ती धर्म परिवर्तन गर्ने ठूलो गिरोह सक्रिय भएको भन्दै यसले धर्मयुद्ध निम्त्याउन सक्ने धारणा राख्नुभयो । नेता बोहराले पूर्वराजालाई पनि संविधानको परिधिमा ल्याउनुपर्ने बताउनुभयो ।

त्यस अवसरमा राप्रपाका महामन्त्री राजेन्द्र लिङदेलले यो निर्वाचन ‘मिनी’ जनमतसङ्ग्रह भएको बताउनुभयो । वर्तमान सरकारले गरेका काम र प्रतिपक्षले निर्वाह गरेको भूमिकाको मूल्याङ्कन गर्न उपनिर्वाचनको भूमिका महत्वपूर्ण हुने उहाँको भनाइ थियो । उहाँले राप्रपा, नेकपा र काङ्ग्रेसको विकल्पको रुपमा आएको बताउनुभयो । त्यस अवसरमा राप्रपाको तर्फबाट दाङ क्षेत्र नं ३ को प्रदेशसभा २ का उम्मेदवार भुपाल रावतले आफूले यस क्षेत्रमा जित हासिल गरेमा यस क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।