मिर्गौलापीडितलाई छ लाख ३४ हजार सहयोग

Nov 21st, 2019

कास्की, ५ मङ्सिर (रासस)

दुवै मिर्गौला फेल भई उपचार गराइरहेका कास्कीको मादी गाउँपालिका–७ थाक घर भई हाल पोखरा महानगरपालिका–१३ लामोडहरमा बस्दै आउनुभएकी २४ वर्षीया मनिषा गुरुङलाई सञ्जीवनी दिदी–बहिनी केन्द्रले रु छ लाख ३४ हजार ३४० सहयोग गरिएको छ ।

गुरुङको आर्थिक अवस्था कमजोर रहेकाले मिर्गौला प्रत्यारोपणका लागि सहयोग पु¥याउने उद्देश्यले केन्द्रले बुधबार सो रकम पीडितलाई प्रदान गरिएको हो । हङकङ निवासी केन्द्रका संस्थापक सदस्य कमला गुरुङको सक्रियतामा हङकङमा सङ्कलित सो रकम केन्द्रकी अध्यक्ष बिना गुरुङले मनिषा बचाऊ अभियान सहयोग समितिका अध्यक्ष इन्द्रबहादुर गुरुङलाई हस्तान्तरण गर्नुभएको थियो ।

अभियानका संयोजक गुरुङले मिर्गौला प्रत्यारोपणका लागि रु २० लाख खर्च लाग्ने चिकित्सकको भनाइ रहेको बताउनुभयो । पीडित गुरुङले हाल हप्ताको दुईपटक डायलासिस गर्दै आउनुभएको छ । यसअघि सहयोग समितिले दीपावलीको अवसरमा देउसीभैलोमार्फत उपचारका लागि रु आठ लाख सङ्कलन गरेको थियो ।