डोटीमा एक हजारको नक्कली नोट फेला

Nov 21st, 2019

डोटी, ५ मङ्सिर (रासस)

सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला डोटीमा रु एक हजारको नक्कली नोट फेला परेको छ । दिपायलस्थित एनसिसी बैंकमा एक जना ग्राहकले आफ्नो खातामा रकम जम्मा गर्न ल्याउँदा रु एक हजारका दुई वटा नक्कली नोट फेला परेको हो ।

बैंक कर्मचारी अनिल शाहीले बैंकमा रु ३५ हजार जम्मा गर्न आएका एक जना ग्राहकको रकममा रु एक हजार दरका ती दुई नक्कली नोट फेला परेको बताउनुभयो । उहाँले भन्नुभयो, “एक जना ग्राहक रकम जम्मा गर्न आउनुभयो, हामीले रकम जम्मा गर्ने बेला हेर्दा दुई नोट नक्कली भएको फेला पा¥यौँ ।” अन्य रुपैयाँभन्दा उक्त रुपैयाँको कागज फरक खालको तथा फोटोकपी कागज जस्तै भएकाले नक्कली नोट सजिलै चिनिएको शाहीको भनाइ छ ।

डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले डोटीमा कहाँबाट नक्कली नोट आए सो विषयमा अनुसन्धान गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “नक्कली नोट कहाँबाट आयो यो विषयमा सुक्ष्मरुपमा अध्ययन र छानबिन हुनेछ ।” डोटीमा नक्कली रुपैयाँ भेटिएको यो पहिलो पटक हो । बैंकमा जम्मा गर्ने समयमा नक्कली नोट भेटिएसँगै यहाँका बजारमा समेत यस्ता खाले नोट हुनसक्ने भन्दै स्थानीयवासी चिन्तित बनेका छन् ।