• गृहपृष्ठ
  • अतिक्रमणमा परेको नेपाली भूमि फर्काएरै छाड्छौं : नेकपा नेता शर्मा

अतिक्रमणमा परेको नेपाली भूमि फर्काएरै छाड्छौं : नेकपा नेता शर्मा

Nov 20th, 2019

भक्तपुर, ४ मङ्सिर (रासस)

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य एवं पूर्वगृहमन्त्री जनार्दन शर्माले सरकारले अतिक्रमण परेको नेपालको भूमि फर्काएरै छाड्ने बताउनुभएको छ । आगामी १४ गते भक्तपुर क्षेत्र नं १ प्रदेश नं १ (क) मा हुने प्रदेशसभा सदस्य पदको उपनिर्वाचनका लागि नेकपाका उम्मेदवार डिपी ढकालका लागि भोट माग्न आज नगरकोटमा आयोजना गरिएको घरदैलो कार्यक्रममा उहाँले भन्नुभयो, “हाम्रो कालापानी, लिपुलेक, लुम्पियाधुरा फर्काउने अभियान सरकारले शुरु गरिसकेको छ, सरकारले नेपालको एक इन्च भूमि पनि छोड्दैन ।”

उज्यालो, समृद्ध र सुन्दर नेपाल बनाउन नेकपाको विकल्प नभएको बताउँदै उहाँले यहाँको विकासको चाहने आमनागरिकले डिपी ढकाललाई मतदान गर्नुपर्ने बताउनुभयो । आफ्नो पार्टीको कमजोरी र गल्तीविरुद्ध आवाज उठाउने पार्टी नेकपा मात्रै भएको बताउँदै शर्माले भन्नुभयो, “नगरकोट सडक निर्माण अलपत्र परेको बारेमा नेकपाले विरोध ग¥यो, त्यसैले अबको तीन महिनाभित्र भक्तपुर नगरकोट सडक निर्माण सम्पन्न गर्नेगरी नेकपाले ठेकेदारसँग लिखित सम्झौता गरेको छ, त्यसैले यो सडक निर्माणको बाँकी काम गर्न शुरु भइसकेको छ ।”

कार्यक्रममा सांसद महेश बस्नेतले वर्तमान सरकारले तेलकोटबाट नगरकोट जाने वैकल्पिक सडक निर्माण एवं कालोपत्र गरी स्व। हरिशरण मार्ग नामकरण गरिसकेको, नगरकोटमा नयाँ बसपार्क निर्माण कार्य शुरु गर्न लागिएको, नगरकोटमा पर्यटकीय भ्यू टावर निर्माण आगाडि बढाइएको र हरिगुरु पार्क निर्माण गरिने चर्चा गर्दै चाँगु क्षेत्रको विकासका लागि ढकाल मात्रै उपयुक्त उम्मेदवार भएको दाबी गर्नुभयो ।

कार्यक्रममा नेकपाका सांसद एवं केन्द्रीय सदस्य गणेश पहाडी, केन्द्रीय सदस्य एवं नगरप्रमुख सोमप्रसाद मिश्र, नेकपा जिल्ला अध्यक्ष बचन देउजा, नेता राजेन्द्र राजथला लगायतले विसका गर्न सक्ने उम्मेदवार नेकपामा मात्रै रहेको दाबी गर्नुभयो । राप्रपाको नेता सुरज दर्जीको नेतृत्वमा २० र काँग्रेसका १० जना गरी ३० जना नेकपा प्रवेश गर्नेलाई नेकपा नेताले टीका र माला लगाई पार्टी प्रवेश गराउनुभएको नेकपा अध्यक्ष देउजाले जानकारी दिनुभयो ।