• गृहपृष्ठ
  • उपनिर्वाचन २०७६ : ११६ सुरक्षाकर्मी खटिए

उपनिर्वाचन २०७६ : ११६ सुरक्षाकर्मी खटिए

Nov 20th, 2019

सिमकोट, ४ मङ्सिर (रासस)

हुम्लाको खार्पुनाथ गाउँपालिकामा यही मङ्सिर १४ गते हुनलागेको उपनिर्वाचनका लागि ११६ सुरक्षाकर्मी खटिएका छन् । खार्पुनाथ गाउँपालिका उपाध्यक्ष सिन्दु शाही हमालको याङचुबगरमा गत असार ३ गते जिप दुर्घटनामा परी मृत्यु भएपछि उपाध्यक्ष पदका लागि यहाँ उपनिर्वाचन हुनलागेको हो ।

जिल्लामा रहेका सुरक्षाकर्मीले नपुग्ने भएपछि सुरक्षालाई थप व्यवस्थित र निर्वाचनलाई मर्यादित बनाउन जिल्ला बाहिरबाट ११६ सुरक्षाकर्मी हुम्ला पुगेर सो गाउँपालिकामा खटाइएको सुरक्षा व्यवस्थापन समितिका संयोजक प्रमुख जिल्ला अधिकारी विनिता भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्ला प्रहरी कार्यालयमा खाली कोटाका लागि माग गरिएको भए पनि ५० प्रहरी जवान पुगेका उहाँले बताउनुभयो ।

यसैगरी सशस्त्र प्रहरी बलका ६६ सुरक्षाकर्मी सिमकोट पुगेका उहाँले जानकारी दिनुभयो । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका गरी ११६ जना जिल्ला सदरमुकाम पुगेर उक्त गाउँपालिकामा पठाइसकिएको उहाँले बताउनुभयो । जिल्लामा पुगेका दुई सुरक्षा निकायका सुरक्षाकर्मी गाउँपालिकाका पाँच मतदान केन्द्रमा खटाइसकेको प्रजिअ भट्टराईले जानकारी दिनुभयो ।

उक्त गाउँपालिका सधैँ चुनावका समयमा बढी धाँधली हुनेमा गनिने भएकाले बढी सुरक्षाकर्मी खटाइएको हो । उपनिर्वाचनका लागि सो गाउँपालिकाका पाँच वडामा रहेका पाँचै मतदान केन्द्रमा सुरक्षाकर्मी पुगिसकेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीमगरले जानकारी दिनुभयो ।