• गृहपृष्ठ
  • बैंकको ध्यान ब्याज कमाउमा मात्रै, व्यापार घाटा कम गर्नमा सरकारलाई असहयोग

बैंकको ध्यान ब्याज कमाउमा मात्रै, व्यापार घाटा कम गर्नमा सरकारलाई असहयोग

Nov 20th, 2019

काठमाडौं, ४ मंसिर
सरकारको ध्यान अहिले व्यापार घाटा कम गर्नेमा केन्द्रित छ । तर बैंकको ध्यान भने ब्याज कमाउमा मात्रै देखिन्छ । व्यापार घाटा कम गर्नका लागि उद्योग क्षेत्रको कर्जामा प्रदान गरिने ब्याज सस्तो हुनपर्ने हो । तर बैंकको ब्याज उद्योगमा भन्दा व्यवसायमा सस्तो छ । अहिले उद्योग क्षेत्रमा प्रदान गरिएको कर्जामा बैंकहरुले १३ दशमलव ६६ प्रतिशतसम्म ब्याज लिएका छन् । तर यता व्यवसायको कर्जा १२ प्रतिशत भन्दा महंगो छैन ।

अझ अनुत्पादक क्षेत्रको ब्याजदर त झनै सस्तो छ । सवारी साधनमा त बैंकहरुले ८ प्रतिशतमै कर्जा उपलब्ध गराएका छन् । त्यस्तै घरजग्गाको ब्याजदर पनि १० प्रतिशत भन्दा बढि छैन । तर उत्पादनमुलक उद्योगका लागि भने अहिले पनि बैंकहरुले चर्काे ब्याज लगाइरहेका छन् । अन्य मुलुकमा उद्योग र व्यवसायमा प्रदान गरिने कर्जामा अन्तर खासै नहुने विज्ञहरु बताउँछन् । ब्याज भनेको रिस्कका आधारमा निर्धारण हुने हो तर यहाँचाहि क्षेत्रहेरेर निर्धारण हुने गरेको छ ।

सरकारले गत आर्थिक वर्षको बजेटमार्फत ब्यापार घाटा कम गर्ने लक्ष्य लिएको थियो । तर गत वर्ष भने सरकारको यो लक्ष्य पुरा गर्न सकेन । यो वर्ष देखि भने ब्यापार घाटामा केहि कमि आएको छ ।भन्सार विभागका अनुसार यो वर्षको ३ महिनामा आयातमा १० प्रतिशतले कमि आउँदा व्यापार घाटा १२ प्रतिशतले घटेको छ । सरकारले ब्यापार घाटामा केहि कम गरेपनि बैंकहरुले भने सरकारको लक्ष्यलाई प्राथमिकतामा राखेका छैनन् ।

अहिले उद्योग स्थापना तथा सञ्चालनका लागि दिने कर्जाको ब्याज भन्दा विदेशबाट नेपालमा ल्याएर सामान बेच्ने अर्थात व्यवसायको लागि लिने कर्जाको ब्याज सस्तो छ । बैंकको ब्याजदरका कारण पनि उचित मूल्यमा उत्पादन गर्न नसकिएको उद्योगीहरु बताउँछन् ।

बैंकको ब्याजदरसँगै उत्त्पादनमुलक उद्योगलाई थप अनुदानको व्यवस्था गर्न सकेमात्रै आन्तरिक उत्पादनले विदेशी बस्तुको आयात रोकि व्यापार घाटा कम गर्न सक्छ । यसमा बैंकहरुको ध्यान केन्द्रित हुन जरुरी छ ।