• गृहपृष्ठ
  • तालिवानद्वारा बन्दी बनाइएका किङ र टिमोथी रिहा

तालिवानद्वारा बन्दी बनाइएका किङ र टिमोथी रिहा

Nov 19th, 2019

कान्दाहार, अफगानिस्तान, ३ मङ्सिर (रासस/एएफपी)

अफगानी तालिवान विद्रोहीले सन् २०१६ मा अपहरण गरी बन्दी बनाइराखेका दुई प्राध्यापक रिहा भएका छन् ।

तालिवान समूहले अमेरिकी प्राध्यापक केभिन किङ र अष्ट्रेलियाली टिमोथी वीकलाई मङ्गलबार रिहा गरेको अफगानी तालिवान समूह तथा यहाँको प्रहरीले पनि पुष्टि गरेको छ ।

अमेरिकी प्राध्यापक किङ र अष्ट्रेलियाली टिमोथीलाई विहान १० बजे अफगानिस्तानको जाबुल प्रान्तको नावबहार जिल्लाबाट रिहा गरिएको छ । उहाँहरू अमेरिकी हेलिकोप्टरमा चढी जाबुलबाट उड्नुभएको थियो ।

उहाँहरूको रिहाईबारे अफगानिस्तानस्थित अमेरिकी राजदूताबासले भने समाचार तयार पार्दासम्म कुनै प्रतिक्रिया दिइसकेको छैन । तर अफगानी प्रहरी र तालिवानका विभिन्न तीन समूहले भने ती दुई पश्चिमी मुलुकका प्राध्यापक रिहा भएको बताएका छन् ।

अफगानिस्तानका राष्ट्रपति असरफ घानीले तालिवान लडाकू समूहले बन्धक बनाइराखेको दुईजना व्यक्तिसँग आफ्नो सरकारले बन्दी बनाउँदै आएका तीन तालिवानी लडाकूसँग सट्टापट्टा गर्न लागेको गत मंगलबार पत्रकारहरूलाई जानकारी दिनुभएको थियो ।

सन् २०१६ को अगस्टमा अमेरिकन युनिभर्सिटी अफ अफगानिस्तानमा अध्यापनरत प्राध्यापकद्वय अमेरिकी केभिन किङ र अस्ट्रेलियाली टिमोथीलाई तालिवान समूहले अपहरण गरेको थियो ।

अफगानिस्तानको राजधानी काबुलस्थित आफ्नो विश्वविद्यालयमा पढाएर बाहिर निस्केका ती दुई प्राध्यापकलाई बन्दुकधारीहरूको एक समूहले जबरजस्ती एउटा सवारी साधनमा राखेर लगेको थियो ।

उहाँहरूलाई अपहरणपछि पहिलो पटक सन् २०१७ को जनवरीमा एउटा भिडियोमार्फत सार्वजनिक गरिएको थियो । त्यस भिडियोमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई तिनीहरूको सकुशल रिहाइका लागि निश्चित सम्झौतामा सहमति जनाउन आह्वान गरिएको थियो ।