• गृहपृष्ठ
  • महिला भलिबल टिमलाई उपराष्ट्रपतिको सम्मान

महिला भलिबल टिमलाई उपराष्ट्रपतिको सम्मान

Nov 19th, 2019

काठमाडौं, ३ मंसिर
उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ ले एसियन भलिबल कन्फेडेरेसन (एभीसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसीपको उपाधी जित्ने नेपाली राष्ट्रिय महिला भलिबल टिमलाई सम्मान गर्नुभएको छ । उहाँले मंगलबार दिउँसो उपराष्ट्रपतिको भवन, हरितगृहमा आमन्त्रण गरेर उपाधी जित्ने राष्ट्रिय महिला भलिबल टिमका प्रशिक्षक र खेलाडीहरुलाई सम्मान गर्नुभएको हो ।
उपराष्ट्रपति पुनले राष्ट्रिय महिला भलिबल टिमको नाममा कप्तान अरुणा शाही र प्रमुख प्रशिक्षक जगदीश भट्टलाई लिखित बधाई सन्देश हस्तान्तरण गर्नुभयो । उहाँले एभीसी सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसीपमा सहभागी खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई खादा लगाएर सम्मान गर्नुभयो ।

खेलाडीहरुलाई सम्मान गर्नुहुँदै उपराष्ट्रपति पुनले भलिबलको ४१ वर्षको अन्तर्राष्ट्रिय यात्रामा नेपाललाई पहिलो उपाधी दिलाएर राष्ट्रिय महिला भलिबल खेलाडीहरुले राष्ट्रको गौरव र प्रतिस्ठा बढाएको बताउनुभयो । उहाँले आगामी दिनमा भलिबलमा अझै ठूला अन्तर्राष्ट्रिय उपाधीहरु जित्ने अपेक्षासमेत व्यक्त गर्नुभयो । उपराष्ट्रपतिले नेपालको सबै भूभागमा खेलिने भलिबल सबैभन्दा लोकप्रिय खेल भएको उल्लेख गर्नुहुँदै भलिबलको विकासका लागि सरकारले छुट्टै बजेटको व्यवस्था गर्नुपर्ने बताउनुभयो । उहाँले आसन्न साग प्रतियोगितामा उपाधीका लागि राष्ट्रिय महिला भलिबल टिमलाई शुभकामनासमेत दिनुभयो ।

सम्मान ग्रहण गर्दै राष्ट्रिय महिला भलिबल टिमका कप्तान अरुणा शाहीले भलिबलमा नेपाललाई पहिलो अन्तर्राष्ट्रिय उपाधी दिलाउन पाउँदा अत्यन्त खुशी लागेको बताउनुभयो । उहाँले उपराष्ट्रपतिबाट पाएको सम्मानले आगामी दिनमा खेलमा थप राम्रो गर्ने हौसला मिलेको बताउनुभयो । प्रमुख प्रशिक्षक जगदशी भट्टले महिलो नेपाली चेलीहरुले भलिबलमा इतिहास रचेको बताउनुहँदै आगामी दिनमा थप राम्रो गर्नका लागि राज्यले भौतिक पूर्वाधार लगायतको क्षेत्रमा लगानी बढाउनुपर्ने बताउनुभयो ।

नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्माले भलिबलमा राष्ट्रले ठूलो सफलता हासिल गरेको बताउनुभयो । उहाँले भलिबलको विकासका लागि आफूहरु प्रयासरत रहेको भए तापनि राज्यको लगानी कम रहेको बताउनुभयो । सो अवसरमा उपराष्ट्रपति पुनले नेपाल भलिबल संघका पदाधिकारीहरुलाई धन्यवाद दिनुभयो ।