• गृहपृष्ठ
  • एक तर्फीरुपमा निर्माण व्यवसायीलाई गाली गलौज गरिएकोमा महासंघको आपत्ति

एक तर्फीरुपमा निर्माण व्यवसायीलाई गाली गलौज गरिएकोमा महासंघको आपत्ति

Nov 19th, 2019

काठमाडौं, ३ मंसिर
निर्माण परियोजनामा भइरहेको ढिलासुस्ती सहित अन्य समस्यालाई लिएर एकतर्फी रुपमा निर्माण व्यवसायीलाई मात्र गाली गलौज गरी आमसंचार माध्यमहरुमा आइरहेको समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको नेपाल निर्माण व्यवसायीमहासंघले जनाएको छ । “गुणस्तरीय रुपमा कुनै पनि निर्माण परियोजना समयमै सम्पन्न गर्नका लागि निर्माण व्यवसायीको मात्र नभएर सरकारी संयन्त्र लगायतको समेत उत्तिकै महत्वपूर्ण भूमिकाहुने कुरा सर्वविदितै छ ” महासंघका महासचिव रोशनदाहाल द्धारा मंगलवार जारी विज्ञप्तिमा उल्लेख छ ।

विद्यमान सार्वजनिक खरिद कानुन अनुसार निर्माण कम्पनीले सरकारसँग तोकिएको समयमा काम गर्ने सम्झौता गरेपछि काम गर्ने ठाउँ तयार गर्ने, जग्गा प्राप्ति गर्ने, काम गर्ने सबैखाले वातावरण बनाउने जिम्मेवारी सरकार कै हुन आउने महासंघले जनाएको छ । साइट क्लियरेन्स, मुआब्जा, क्षतिपूर्ति समस्या लगायतका कारणले अधिकांश निर्माण परियोजनाहरुमा समस्या आएको तथ्यलाई स्विकार गर्दै महासंघले यस्ता समस्या समाधान गर्ने जिम्मेवारी राज्यका निकायहरु कै हो भनेको छ ।
यसबाहेक सरकारी प्रतिबद्धता विपरित म्याद थपमा भइरहेको आलटाल, अव्यवहारिक ऐन कानून, भुक्तानीको समस्या, असुरक्षा, चन्दा आतंक, महंगी, निर्माण जन्य सामाग्रीको अभाव, अदालतको आदेश, सरकारी संयन्त्रको समन्वय अभाव जस्ता समस्याका कारणपनि धेरै निर्माण परियोजनाहरु समयमै सम्पन्न हुन नसकेको महासंघले स्पष्ट पारेको छ । समस्या समाधानका लागि प्रधानमन्त्री, मन्त्रीहरु, अख्तियार प्रमुख, सचिवहरु सहित सम्बन्धित् विभागका महानिर्देशक र अन्य कर्मचारीहरुको पटक पटक ध्यानाकर्षण गराउँदा समेत कुनै सुनुवाई नभएको महासंघले उल्लेख गरेको छ ।

“विभिन्न चुनौतिका बाबजुद वर्तमान सरकारको “समृद्ध नेपाल, सुखी नेपाली” को नारालाई मूर्त रुप दिन अहोरात्र कार्यक्षेत्रमा खटिएका व्यवसायीहरुलाई प्रोत्साहित गर्नुको सट्टा निरुत्साहित पार्ने गरी समाचारहरु आइरहनु दुखद पक्ष हो ”महासंघको विज्ञप्तिमा उल्लेख छ । व्यवसायीहरुबाट पनि कहिंकतै कमजोरी भएका हुन सक्ने भन्दै महासंघले दोषी प्रमाणित भए त्यस्ता व्यवसायीलाई प्रचलित ऐन कानून अनुसार नै कार्वाही हुनुपर्ने जनाएको छ । एकपक्षीयरुपमा व्यवसायीको सामाजिक प्रतिष्ठामा नै आँच आउने गरी भइरहेका गतिविधिप्रति कडा आपत्ति जनाउँदै महासंघले सत्य तथ्य बुझेर मात्र समाचार सम्प्रेषण गरिदिन सम्पूर्ण संचार माध्यमहरु समक्ष अनुरोध गरेको छ ।