सवारी दुर्घटनामा परी चार जनाको मृत्यु

Nov 19th, 2019

काठमाडौं, मंसिर ३

रामेछाप, सर्लाही र उदयपुरका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ । रामेछाप, दोरम्बा गाउँपालिका २ ढाक्रेबास भन्ने स्थानमा दहपतालबाट दोलखाको भैसेतर्फ जाँदै गरेको बा.१३ च ७०९५ नम्बरको बोलेरो गाडी सडकबाट अन्दाजी ४ सय मिटर तल खसेर सोमबार साँझ दुर्घटना हुँदा गम्भीर घाइते भएका गाडीमा सवार शैलुङ गाउँपालिका ८ मनगाँउ बस्ने १० वर्षीया सुवानी श्रेष्ठ र १२ वर्षीया दिल कुमारी श्रेष्ठको दोरम्बा स्वास्थ्य चौकीमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका गाडी चालक समेत अन्य १३ जनामध्ये ३ जनाको सोही स्वास्थ्य चौकीमा र १० जनालाई उपचारको लागि ट्रमा सेन्टर काठमाडौं लगिएको छ ।

सर्लाही, लालबन्दी नगरपालिका ७ स्थित सडकमा हाल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका पैदलयात्री सोही नगरपालिका १६ परवानीपुर बस्ने ४० वर्षीय हेम बहादुर भण्डारीको टेक्सास अस्पाताल लालबन्दीमा उपचारको क्रममा सोमबार राति मृत्यु भएको छ । ठक्कर दिने मोटरसाइकल र चालकको प्रहरीले खोजी गरिरहरेको छ ।

उदयपुर, कटारी नगरपालिका ३ मिर्चैया कटारीस्थित सडकमा को.स ९ प २०७ नम्बरको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी सोही ठाउँ बस्ने बर्मलाल अधिकारीको छोरी ३ वर्षीया जिज्ञासा अधिकारीको कटारीस्थित सगरमाथा अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारको लागि नोबेल अस्पताल बिराटनगरमा लगिएकोमा उपचारको क्रममा सोमबार साँझ उनको मृत्यु भएको छ । मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।