दाङमा इन्टरनेट प्रयोगकर्ता बढ्दै

Nov 19th, 2019

तुलसीपुर, ३ मङ्सिर (रासस)

दाङमा इन्टरनेट प्रयोगकर्ता बढिरहेका छन् । मुलुकमा विज्ञान र प्रविधिको तीव्र विकाससँगै इन्टरनेट प्रयोगकर्ता बढिरहेका हुन् । दाङमा अहिले करिब चार हजार इन्टरनेटका ग्राहक रहेका छन् । नेपाल टेलिकमले प्रदान गर्दै आएको एडिएसएलका तीन हजार ८७३ ग्राहक रहेका छन् ।

नेपाल टेलिकम तुलसीपरका सूचना अधिकारी दिलबहादुर केसीका अनुसार तुलसीपुरमा एकहजार ४५१, घोराहीमा एकहजार २८०, बिजौरीमा १०७, बेलझुण्डीमा ६४ हापुरेमा ७१ ग्राहक रहेका छन् । उहाँका अनुसार तुलसीपुरमा चार हजार १७० ग्राहकलाई इन्टरनेट पु¥याउन सक्ने क्षमता रहेको छ । त्यस्तै घोराहीमा चार हजार ९४४ क्षमता रहेको छ । त्यस्तै टेलिकम तुलसीपुर मातहत रहेको सल्यानमा ३०५, रोल्पामा ४४९, प्यूठानमा १५६ इन्टरनेट प्रयोग कर्ता रहेको केसीले बताउनुभयो ।

प्रभावहीन फोरजी

दाङसहित विभिन्न जिल्लाका शहरमा शुरु भएको फोरजी सेवा प्रभावकारी हुन सकेको छैन । दाङको घोराही, तुलसीपुर तथा लमहीमा फोरजी सेवा शुरु भएको हो तर यो सेवा प्रभावकारी रुपमा सञ्चालन हुन सकेको छैन । केन्द्रकै समस्याका कारण प्रभावकारी बन्न नसकेको सूचना अधिकारी केसीले बताउनुभयो । “यो समस्या यताबाट होइन”, उहाँले भन्नुभयो, “केन्द्रीय समस्याका कारण यस्तो समस्या देखिएको छ ।”

अहिलेको फोरजी सेवा ६५ लाख जनसङ्ख्यालाई धान्ने खालको योजना रहेको केसीले बताउनुभयो । त्यसका लागि तुलसीपुरको गुम्राहा चोकदेखि बिपी चोकसम्म फोरजीको लाइन तानी सकेको र सडक विभागले घोराही रोडमा सडक निर्माण गर्न लागेको हँुदा फोरजीको काममा केही समस्या भएको उहाँको भनाइ छ ।

चारवटा टावर सञ्चालन

दाङमा पनि मोबाइलको टावर विस्तारलाई तीव्रता दिइएको छ । गत वर्ष मात्रै दाङमा १२ वटा टावर निर्माण भएका छन् । जसमध्ये चारवटा टावर सञ्चालन भएका छन् भने अन्य टावर सञ्चालन हुने अन्तिम प्रक्रियामा छन् ।