• गृहपृष्ठ
  • पाटनमा सिसी क्यामरा जडान गरी वन्यजन्तुको निगरानी

पाटनमा सिसी क्यामरा जडान गरी वन्यजन्तुको निगरानी

Nov 19th, 2019

जाजरकोट, ३ मङ्सिर ९रासस)

भूगोलका हिसाबले ठूलो मानिएको डोल्पामा यहाँका वन्यजन्तुको संरक्षण र गणनाका लागि सिसीटिभी क्यामरा जडान गरी काम शुरु भएको छ । जिल्लाको जगदुल्ला गाउँपालिका र गाउँपालिकाभित्रका पाटनलगायत अन्य विभिन्न पाटनमा ५० वटा क्यामरा जडान गरिएको हो । हिम चितुवाको बासस्थान भएका ठाउँमा सिसीटिभी जडान गरिएको छ । विश्व वन्यजन्तु कोषको आर्थिक सहयोगमा कागमारा, टाङटुगे, बाहिर पुदुवभित्र पुदुव, अन्तर पुदुव ठूली पाल्ती र जगुदुल्ला गाउँपालिकाका पाटनमा सिसीटिभी जडान गरिएको शे फोक्सुण्डो राष्ट्रिय निकुञ्जले जनाएको छ ।

सिसिटिभी क्यामराका सहायताले निकुञ्जभित्रका तीन हजार नावरको गणना गरिएको छ । हिउँ चितुवाको सुरक्षाका लागि क्यामरा जडान मुख्य काम भएको निकुञ्जले जनाएको छ । निकुञ्जभित्र रहेका वन्यजन्तुको सुरक्षाका साथै हिउँ चितुवाको विशेष सुरक्षा, निगरानी अनि चोरी निकासी रोक्नका लागि क्यामरा जडान गरिएको हो । शे–फोक्सुण्डो नेपालको सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज हो । यो डोल्पा र मुगु जिल्लामा फैलिएको छ । नेपालको पश्चिमी दुर्गम हिमालपार क्षेत्रमा रहेको यस निकुञ्जमा तिब्बती वातावरणमा पाइने प्राकृतिक सम्पदा पाइन्छ । यहाँ तल्लो हिमाली क्षेत्रदेखि लिएर उच्च हिमाली र हिमालपारि क्षेत्रको तिब्बती भूमिसम्मको भूधरातल भएकाले हिउँ चितुवा, तिब्बती खरायो, चिरु, तिब्बती गधा, नाउरलगायत हिमाली क्षेत्रमा पाइने वन्यजन्तु पाइन्छन् । यस निकुञ्जलाई डाँफे, मुनाल, चिललगायत २०० प्रजाति पक्षी, छ प्रजातिका सरिसृप र ३२ प्रजातिका पुतलीले जैविक विविधतामा अझ धनी बनाएका छन् ।

यहाँ पाइने हिउँ चितुवाको आहार–विहारबारे वैज्ञानिक अनुसन्धानको नतिजाले यो निकुञ्ज हिउँ चितुवाका लागि सबैभन्दा उपयुक्त वासस्थान प्रमाणित भएको छ । काञ्जिरोवा दक्षिण (६,८६६ मि), सिकाल्पो खाङ (६,५५६ मि), वेज चुचुरो (७,१३९ मि) जस्ता हिमशिखर र कतिपय हिमनदीले यस निकुञ्जलाई अनुपम प्राकृतिक सुन्दरता प्रदान गरेका छन् । निकुञ्जको मध्य भागमा रहेको नेपालको सबैभन्दा गहिरो फोक्सुण्डो ताललाई सन् २००७ मा रामसारमा सूचीकृत गरिएको छ । एघारौँ शताब्दीमा निर्मित शे गुम्बा यहीँ छ । गुम्बामा तिब्बती बौद्ध धर्मको शिक्षा दिइन्छ । यो राष्ट्रिय निकुञ्जलाई विश्व सम्पदा सूचीमा राख्न सिफारिस गरिएको छ ।