गोरु काटेर खाएको आरोपमा चार जना पक्राउ

Nov 19th, 2019

गलकोट, ३ मङ्सिर (रासस)

बागलुङको काठेखोला गाउँपालिका–१ पालाबाट गोरु काटेर खाएको आरोपमा चार जना पक्राउ परेका छन् । साविकको पाला गाविस–४ को चिहानडाँडा भन्ने स्थानमा गोरु काटेर खाएको आरोपमा स्थानीयवासी ४७ वर्षीय यामबहादुर सार्की, २९ वर्षीय रेशम सार्की, २४ वर्षीय आइते किसान र १८ वर्षीय रवि किसान पक्राउ परेका हुन् ।

पक्राउ परेका चारै जनाविरुद्व पशुसम्बन्धी कसुरअन्तर्गत गाई, गोरु मार्न वा कुट्न नहुने शीर्षकमा मुद्दा दर्ता गरिएको प्रहरी नायब उपरीक्षक झविन्द्र भट्टराईले जानकारी दिनुभयो । उनीहरु सबैलाई जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धानसमेत भइरहेको उहाँको भनाइ छ ।

बिप्लव कार्यकर्ता पक्राउ

नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका एक कार्यकर्ता पक्राउ परेका छन् । जिल्लाको काठेखोला गाउँपालिका–४ तङ्ग्रामका नन्दराम थापालाई पक्राउ गरिएको हो । जिल्ला अदालतबाट फरार सूचीमा रहेका र पक्राउ पुर्जीसहितको म्यादसमेत जारी भएको थियो ।