• गृहपृष्ठ
  • फुलबारी रिसोर्ट सञ्चालकले पाए १९ अर्ब छुट,चण्डी ढकाल पनि लबिङमा व्यस्त

फुलबारी रिसोर्ट सञ्चालकले पाए १९ अर्ब छुट,चण्डी ढकाल पनि लबिङमा व्यस्त

Nov 19th, 2019

काठमाडौं, ३ मंसिर
राष्ट्रिय वाणिज्य बैंक, नेपाल औद्योगिक विकास निगम, सञ्चय कोषले २०५२ सालमा पोखराको फुलबारी रिसोर्टमा १ अर्ब २२ करोड रुपियाँ लगानी गरेका थिए । लामो समय ऋण नतिरेका कारण साधारण ब्याज, कम्पाउण्ड ब्याज र पेनाल ब्याजका कारण १४ वर्षमा २० अर्ब ३१ पुगेको थियो । तर अहिले यसको तिर्न बाँकी रकम जम्मा १ अर्ब ३१ करोड कायम गरिएको छ ।

स्रोतका अनुसार बैंकहरुले सञ्चालकलाई पियूषबहादुर अमात्यलाई १९ अर्ब रुपैयाँ बराबरको ब्याज छुट दिएका छन् । १४ वर्षको आम्दानी जम्मा ९ करोड कायम भएको छ । २०७० मा केपी ओली नेतृत्वको सरकारका उद्योगमन्त्री कर्णबहादुर थापाको प्रस्तावमा फूलबारी रिसोर्टलगायत १० वटा उद्योगलाई रुग्ण घोषणा गर्दै मन्त्रिपरिषद्बाटै सुविधा दिने निर्णय गरेपछि अमात्यलाई अहिले बैंकले पनि राहत दिएका छन् ।

मन्त्रिपरिषद्ले रुग्ण उद्योग घोषणा गरेसँगै आफूले ब्याज मिनाहा पाउनुपर्ने अमात्यले दाबी गर्दै आएका थिए । करोडौँ ऋण लिएर नियतवश नतिर्ने डिफल्टरहरुलाई सरकारी स्वामित्वका बैंकहरुले भटाभट ब्याज मिनाहा गरी कर्जा पुनसंरचना गर्न थालेका छन् । पियूषबहादुर अमात्यभन्दा अघि महालक्ष्मी सुगर मिलका बिरेन्द्र कनौडियाले पनि ब्याज छुट पाएका थिए ।

साथै राष्ट्रिय वाणिज्य बैंकले पनि उद्योग बाणिज्य महासंघका पूर्वअध्यक्ष चण्डी ढकाललाई पौने चार अर्ब नै छूट दिने तयारी गरेको छ । छुट गराउनका लागि उनले आफ्न लबिङलाई ब्यापक बनाएका छन् । २०५० सालमा उद्योगी चण्डीराज ढकालले गार्मेन्ट उद्योगका लागि ३१ करोड ५६ लाख रुपैयाँ ऋण लिएका थिए । उनले बैंकलाई तिर्नुपर्ने रकम ४ अर्ब २५ करोड रुपैयाँ पुगेको छ । जसमध्ये ८५ करोड साधारण ब्याज हो भने ९ करोड जरिवाना र ३ अर्ब कम्पाउण्ड ब्याज रहेको छ ।