• गृहपृष्ठ
  • ग्लोबल आइएमई बैंकको १३ औं वार्षिक साधारण सभा सम्पन्न

ग्लोबल आइएमई बैंकको १३ औं वार्षिक साधारण सभा सम्पन्न

Nov 18th, 2019

काठमाडौं, २ मंसिर
ग्लोबल आइएमई बैंक लिमिटेडको १३औं वार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ । आ.व.२०७५/७६ माआफ्ना शेयरधनीहरुलाई १२ दमसलव ७५ प्रतिशत बोनश शेयर र १२ दसमलव ७५ प्रतिशत नगद लाभांश गरी २५ दसमलव पाँच प्रतिशत लाभांश दिने निर्णय पारित गर्दै १३ औं वार्षिक साधारण सभा सम्पन्न भएको बैंकले जनाएको छ ।

बैंकका अनुसार आ.व.२०७५/७६ मा दुुई अर्ब ७६ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । बोनश शेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी ११ अर्ब ७६ करोड रुपैयाँ पुग्नेछ । सभाले जनता बैंक नेपाल लिमिटेडलाई ग्लोबल आइएमई बैंक लिमिटेडमा गाभ्ने प्रस्ताव पारित गरेको छ । साधारण सभाबाट पारित भए सँगै दुई बैंक मर्जरका लागि नेपाल राष्ट्र बैंक समक्ष अन्तिम स्वीकृती प्राप्त गरी ग्लोबल आईएमइ बैंक लिमिटेडको नामबाट एकिकृत कारोवारका लागि अन्तिम तयारी भइरहेको छ ।

सभाले बैंकको अधिकृत पूँजी १६ अर्बलाई बृद्धि गरी २५ अर्ब कायम गर्ने विशेष प्रस्ताव समेत पारित गरेको छ । सभामा बोल्दै बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकले मंसिर महिना भित्र एकीकृत कारोबार सुरु गर्ने योजना रहेको बताए । मर्जरपछि ग्लोबल आइएमई देशकै सबै भन्दा ठूलो र सबल बैंक बन्ने बताउँदै, उनले शेयरधनीको आकांक्षा अनुरुप आगामी दिनमा अझै सर्वसुलभ बैंकिङ्क सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरे ।

यी दुई बैंकले गतअसार २० गते मर्जरका लागि प्रारम्भिक सहमती गरेका थिए भने कार्तिक ८ गते मर्जर सम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । मर्जर पछि बन्ने बैंकको नाम ग्लोबल आइएमई बैंक, अध्यक्ष चन्द्रप्रसाद ढकाल हुने सहमति गरिएको छ भने सञ्चालक समितिमा ग्लोबलको तर्फबाट पाँच जना र जनताको तर्फबाट दुई जना रहने सहमति भएको छ । त्यस्तै मर्जरपछि बन्ने बैंकको कार्यकारी प्रमुख अधिकृत परशुराम कुँवर क्षेत्री र वरिष्ठ नायव कार्यकारी प्रमुख अधिकृत महेश शर्मा ढकाल हुने सहमति भएको छ ।

मर्जरपछि ग्लोबल आइएमई बैंक नेपालकै ठूलो बैंक बन्नेछ । बैंकको चुक्ता पुँजी करिब १९ अर्ब, कुल निक्षेप २ खर्ब १० अर्ब भन्दा बढी र कुल कर्जा लगानी करिब २ खर्ब पुग्नेछ । त्यस्तै बैंकको शाखा सञ्जाल करिब ३०० तथा सेवा केन्द्रको संख्या ८५० भन्दा बढी हुनेछ । बैंकमा ३ हजार २५० भन्दा बढी कर्मचारीहरु रहने छन् । त्यस्तै बैंकको २५६ एटीएम, २४१ शाखा रहित बैंकिङ्ग सेवा, ३३ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर ३ वटा बैदेशिक सम्पर्क कार्यालय र करिब २० लाख ग्राहक संख्या रहने छन् ।