• गृहपृष्ठ
  • उत्तर कोरियामा सैन्य अभ्यास, किम जोङ–अनले गरे अवलोकन

उत्तर कोरियामा सैन्य अभ्यास, किम जोङ–अनले गरे अवलोकन

Nov 18th, 2019

सियोल, २ मङ्सिर (रासस/एपी)

उत्तर कोरियाली नेता किम जोङ–अनले मुलुकको सेनालाई थप सुदृढ गर्ने उद्देश्यले आयोजित पारासुट सैन्य अभ्यासको अवलोकन गर्नु भएको छ ।

संयुक्तराज्य अमेरिका र दक्षिण कोरियाले कोरियाली द्वीपलाई नै आणविक निःशस्त्रीकरण गर्न कुटनीतिक वार्ता र संवाद गरिरहे पनि अमेरिकामाथि थप दबाब सिर्जना गर्न उत्तर कोरियाले हातहतियारको प्रदर्शन र सैन्य अभ्यासलाई निरन्तरता दिइरहेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले किमलाई “चाँडै भेटौंला” भन्दै ट्वीट गरेको केही घण्टा नबित्दै उत्तर कोरियाले सैन्य अभ्यास गरेको तस्वीर सार्वजनिक गरेको छ । राष्ट्रपति ट्रम्पले ट्वीटमा आणविक निःशस्त्रीकरण सम्बन्धी वार्तामा जतिसक्दो चाँडो सहमति भएको हेर्न चाहेको पनि बताउनुभएको छ ।

बैंककमा आयोजित एसियाली रक्षामन्त्रीहरुको सम्मेलनका क्रममा अमेरिकी रक्षामन्त्री मार्क एस्परले आइतबार अमेरिका र उत्तर कोरियाबीचको सम्बन्धलाई सामान्यीकरण गर्न र वार्ताको वातावरण बनाउन दक्षिण कोरिया–अमेरिका संयुक्त सैन्य अभ्यास स्थगित गरिएको बताउनुभएको थियो ।

उत्तर कोरियासँग जारी आणविक निःशस्त्रीकरण वार्तालाई सहजीकरण गर्न उक्त संयुक्त सैन्य अभ्यास स्थगित गरिएको अमेरिकी भनाइ छ । उत्तर कोरियाले आफ्नो मुलुकमाथि आक्रमण गर्ने नियोजित षडयन्त्रस्वरूप संयुक्त सैन्य अभ्यास गरिएको भन्दै विरोध गर्दै आएको थियो । उत्तर कोरियाले अमेरिकालाई यस वर्षको अन्त्यसम्ममा दुवै मुलुकलाई स्वीकार्य स्पष्ट योजनासहित अघि आउन आग्रह गरिआएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ–अनबीच सिङ्गापुरमा भएको पहिलो शिखर वार्तापछि अमेरिका र दक्षिण कोरियाले गत वर्ष पनि धेरैवटा संयुक्त सैन्य अभ्यास रद्द गरेका थिए । तर यसै महिनाको अन्त्यतिर संयुक्त हवाई अभ्यास गर्ने तयारी गरिएको थियो ।

अमेरिकी रक्षामन्त्री एस्परले संयुक्त सैन्य अभ्यास स्थगित गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो – कोरियाली द्वीपमा शान्ति स्थापना गर्ने र उपयुक्त वातावरण निर्माण गर्ने उद्देश्यले यो मित्रवत निर्णय गरिएको हो ।

थाइल्याण्डको राजधानी बैंककमा एशिया प्रशान्त क्षेत्रका रक्षामन्त्रीहरूको बैठकका क्रममा पत्रकारहरूसँग कुरा गर्दै अमेरिकी रक्षामन्त्री एस्परले उत्तर कोरिया पनि वार्ताको टेबुलमा चाँडै आउने विश्वास व्यक्त गर्नुभयो । उहाँले संयुक्त सैन्य अभ्यासमा गरिएको ढिलाइले दुवै मुलुकका कूटनीतिज्ञबीच जारी वार्ता फलदायी हुन सहज बनाउने बताउनुभयो ।

स्वीडेनमा गत अक्टोबरमा शुरु भएको दुवै मुलुकबीचको वार्ता एकाएक भङ्ग भएको थियो । वार्तामा उत्तर कोरियाली प्रतिनिधिमण्डलले अमेरिकाबाट पुरानै प्रस्ताव आएको भन्दै असन्तोष प्रकट गरेका थिए ।

उत्तर कोरियाले तीन दिनको अन्तरालमा दुई वटा सैन्य अभ्यास गरेको प्रचार गरेको छ । शनिबार प्रकाशित एक रिपोर्टमा किमले लडाकू बिमानका पाइलटहरुलाई शत्रुका अखडामा जस्तोसुकै आक्रमणका लागि तयार रहन निर्देशन दिनुभएको थियो ।