• गृहपृष्ठ
  • विभिन्न मुद्दामा फरार प्रतिवादीहरु पक्राउ

विभिन्न मुद्दामा फरार प्रतिवादीहरु पक्राउ

Nov 18th, 2019

धादिङ, मंसिर २
जिल्ला अदालत धादिङको फैसलाले चोरी मुद्दा तथा कारागारबाट भागेको मुद्दामा जम्मा ८ वर्ष ११ महिना १२ दिन कैद सजाय ठहर भई फरार रहेका प्रतिवादी धादिङ साविक धुँवाकोट गाविस-५ बस्ने राम बहादुर भन्ने ६९ वर्षीय सुब्बा वस्तीलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको प्रहरीले उनलाई निलकण्ठ नगरपालिका-१ खाल्टेमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

उक्त अदालतको २०४१ जेठ ८ गतेको फैसला अनुसार चोरी मुद्दामा ३ वर्ष ११ महिना ७ दिन कैद सजायमा कारागार कार्यालय धादिङमा थुनामा रहेको अवस्थामा २०४१ मंसिर ६ गते कारागारबाट भागी फरार भएपछि कारागारबाट भागेको मुद्दामा पुन २०४२ मंसिर १७ गतेको फैसलाले ५ वर्ष ५ दिन थप कैद सजाय गरी जम्मा ८ वर्ष ११ महिना १२ दिन कैद सजाय ठहर भएको थियो । यसैगरी जिल्ला अदालत धादिङको २०५६ असोज १९ गतेको फैसलाले भवितव्य ज्यान मुद्दामा ६ महिना कैद र ५ सय रुपैयाँ जरिवाना भई फरार रहेका प्रतिवादी धुनिबेशी नगरपालिका-४ बस्ने दिपक मिजार भन्ने ४१ वर्षीय दिपेश मिजारलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत पक्राउ परेका मिजार र वस्तीलाई आवश्यक कारवाहीको लागि आइतबार जिल्ला अदालत धादिङमा पेश गरेकोमा अदालतको आदेशले कैद भुक्तानको लागि दुवै जनालाई कारागार कार्यालय धादिङ पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।