• गृहपृष्ठ
  • उपनिर्वाचन २०७६ : कोहलपुरमा राजनीतिक प्रतिष्ठाको सवाल

उपनिर्वाचन २०७६ : कोहलपुरमा राजनीतिक प्रतिष्ठाको सवाल

Nov 18th, 2019

– भेषराज बस्नेत राँझा, २ मङ्सिर (रासस)

बाँकेको कोहलपुर नगरपालिका¬–६ मा वडाध्यक्ष पदका लागि हुने उपनिर्वाचनलाई ठूला दलहरुले राजनीतिक प्रतिष्ठाको सवाल बनाएका छन् । दुई प्रमुख पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली काँग्रेस वडाध्यक्षको निर्वाचनलाई राजनीतिक प्रतिष्ठाको विषय बनाएर निर्वाचन प्रचारप्रसारमा खटिएका छन् ।

नेपाली काँग्रेसलाई पुरानो बर्चस्व जोगाउन र नेकपालाई पार्टी एकीकरणपछिको प्रभाव देखाउन दुबै पार्टी योजनाबद्ध तरिकाले लागेका छन् । वडाध्यक्षका उम्मेदवारको निर्वाचन प्रचारका लागि नेकपाले पार्टी अध्यक्ष पुष्पकमल दाहालको उपस्थितिमा चुनावीसभा आयोजना गरेको छ ।

चुनावी गतिविधिलाई प्रभावकारी बनाउन पार्टी अध्यक्ष दाहालको उपस्थितिमा चुनावीसभा गरिएको नेकपा कोहलपुर नगर कमिटी अध्यक्ष बसन्ती अधिकारीले जानकारी दिनुभयो । उहाँ नगर प्रमुखसहित बहुमत वडामा नेकपाको जित भएको र अहिले पार्टी एकीकरणले उपनिर्वाचनमा नेकपाको जित हुने दाबी गर्नुहुन्छ ।

नेपाली काङ्ग्रेसले निर्वाचन कार्यालय स्थापना गरी चुनाव प्रचारप्रसारमा लागेको उक्त पार्टीका कोहलपुर नगरपालिका सचिव भूम भण्डारीले बताउनुभयो । उहाँले वडा नं. ६ नेपाली काँग्रेसको इलाका भएकाले यो उपनिर्वाचनमा पनि जित सुनिश्चित भएको उल्लेख गर्नुभयो ।

वडाध्यक्षको निर्वाचनका लागि नेकपाले रामशरण थारुलाई उम्मेदवार चयन गरेको छ भने नेपाली काँग्रेसले कृष्ण थारु र राष्ट्रिय प्रजातन्त्र पार्टीले श्रीधर सुवेदीलाई उम्मेदवार बनाएको छ ।

नेपाली काँग्रेसबाट उम्मेदवार भई निर्वाचित वडाध्यक्ष रामसोहन थारुको निधन भएपछि मङ्सिर १४ मा हुने उपनिर्वाचनमा नेपाली काँग्रेसले विगतको विरासत जोगाउन लागिरहेको छ भने नेकपाले जित आफ्नो पक्षमा पार्ने दाउमा छ । वडामा राजनीतिक प्रभाव राख्ने कार्यकर्तालाई आफ्नो पक्षमा पार्न राजनीतिक दलहरु लागिपरेका छन् । निर्वाचनको मिति नजिकिँदै गर्दा मतदातामा पनि कसलाई मत दिने भन्ने कौतुहलता बढ्न थालेको छ ।

अघिल्लो निर्वाचनमा एक हजार ९६४ जना मतदाता रहेकामा हाल बढेर मतदाताको सङ्ख्या दुई हजार २६ पुगेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । गत स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार रामसोहनले ४२४ मत प्राप्त गरी विजयी हुनु भएको थियो । उहाँका निकटतम प्रतिद्वन्द्वी तत्कालीन नेकपा ९एमाले०का श्रीराम थारुले ३५२ मत प्राप्त गर्नुभएको थियो ।

यसैगरी तत्कालीन नेकपा ९माओवादी० केन्द्रका रामशरण थारुले २७३, राप्रपाका नेबबहादुर वलीले ८७ र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका सुभाखर पोख्रेलले ५६ मत प्राप्त गर्नुभएको थियो ।

विसं २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार भई वडाध्यक्षमा निर्वाचित हुनुभएका रामसोहन थारुको २०७५ मङ्सिर ९ गते निधन भएको थियो । कोहलपुर नगरपालिकाको वडा नम्बर ६ अहिले कार्यवाहक अध्यक्षको भरमा चल्दै आएको छ ।