• गृहपृष्ठ
  • तनहुँको भानु नगरपालिकाका विभिन्न वडामा चितुवा नियन्त्रणका लागि खोर बनाउनेलाई प्रोत्साहन

तनहुँको भानु नगरपालिकाका विभिन्न वडामा चितुवा नियन्त्रणका लागि खोर बनाउनेलाई प्रोत्साहन

Nov 17th, 2019

दमौली, १ मङ्सिर (रासस)

तनहुँको भानु नगरपालिकाका विभिन्न वडामा बालबालिकालाई आक्रमण गर्ने चितुवा नियन्त्रणका लागि परम्परागत काठको खोर बनाउनेलाई नगरपालिका र डिभिजन वन कार्यालयले नगदसहित सम्मान गरेको छ ।

काठको खोरको सहयोगमा तीन चितुवा नियन्त्रणमा आएपछि नगरपालिका र वनले प्रोत्साहन स्वरुप परम्परागत खोर बनाउने चार जनालाई आज नगदसहित सम्मान गरेको हो । सम्मानित हुनेमा वडा नं २ फुस्रेटारका हरिभक्त ढकाल र वडा नं ३ का मनबहादुर राना रहनुभएको छ । ढकाललाई रु १० हजार र रानालाई रु पाँच हजार तथा प्रमाणपत्रले सम्मान गरिएको छ । त्यस्तै खोर बनाउन ढकाललाई सहयोग गर्ने वडा नं २ का रसबहादुर कुमाल र रानालाई सहयोग गर्ने वडा नं ३ का हिराबहादुर कुमाललाई जनही रु दुई हजार ५०० तथा प्रमाणपत्रले सम्मान गरिएको छ । उहाँहरुलाई प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित, नगर प्रमुख उदयराज गौली, डिभिजन वन कार्यालयका प्रमुख केदार बराल लगायतले सम्मान गर्नुभएको थियो ।

सोही कार्यक्रममा काठको खोर निर्माणका लागि सहयोग पु¥याउने देउराली सामुदायिक वन, कालिका सामुदायिक वन, मिनेश्वरी सामुदायिक वन, भिमसेनथुम्की सामुदायिक वन र मजुवा ओख्ले सामुदायिक वनलाई पनि नगदसहित सम्मान गरिएको थियो । ती सामुदायिक वनलाई प्रति खोर रु पाँच÷पाँच हजार र मजुवा ओख्ले सामुदायिक वनलाई रु १० हजारसहित सम्मान गरिएको छ ।

डेढ वर्षको अवधिमा सो नगरपालिकाका वडा नं १, २, ३ र ४ मा चितुवाको आक्रमणबाट छ बालबालिकाको मृत्यु भएपछि चितुवा नियन्त्रणमा लिन विभिन्न प्रयास भएका थिए । अन्य सामुदायिक वनमा समेत परम्परागत काठको खोर निर्माण शुरु गरिएको थियो । हाल यहाँका पाँच सामुदायिक वनमा छ परम्परागत काठका खोर चितुवा नियन्त्रणका लागि राखिएको छ ।

चितुवा नियन्त्रणका लागि अपनाइएका सबै उपायमध्ये परम्परागत काठको खोर सबैभन्दा बढी प्रभावकारी देखिएको डिभिजन वन प्रमुख बरालले बताउनुभयो । उहाँका अनुसार नगद पुरस्कारका लागि कार्यालयबाट रु २५ र नगरपालिकाबाट रु २५ हजार उपलब्ध गराइएको थियो । चितुवा नियन्त्रणका लागि गण्डकी प्रदेश सरकारबाट रु ३० लाख विनियोजन भए पनि हालसम्म निकासा नभएकोले आन्तरिक स्रोतबाट बजेट जुटाएर उहाँहरुलाई सम्मानित गरिएको बरालले जानकारी दिनुभयो ।