• गृहपृष्ठ
  • उपनिर्वाचनले तात्दैछ पिपरा गाउँपालिका

उपनिर्वाचनले तात्दैछ पिपरा गाउँपालिका

Nov 17th, 2019

– संजीत कुमार मण्डल
जलेश्वर, १ मङ्सिर (रासस)

महोत्तरी जिल्लाको पिपरा गाउँपालिकामा अहिले उपनिर्वाचनको चुनावी गतिविधि चुलिँदै गएको छ ।विसं २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा निर्वाचित पिपरा गाउँपालिकाका अध्यक्ष विनोद कुमार चौधरी निधन हुनुभएका कारण त्यहाँ चुनाव हुन लागेको हो । अध्यक्ष पदमा ११ दलका सहित २० जनाले उम्मेदवारी दिएपछि अहिले सो गापामा चुनावी सरगर्मी बढेको छ ।

पिपरा गापाको उपनिर्वाचनमा उम्मेदवारी दिएर चुनावी प्रतिष्पर्धामा होमिएका उम्मेदवारहरुमध्ये कसै कसैमा आफ्नै साख जोगाउने चिन्ता छ भने कसैकसैमा अन्ततः चमत्कार भएर विजेता बन्ने बन्छु भन्ने विश्वास देखिएको छ । राष्ट्रिय जनता पार्टी नेपालबाट निर्वाचित पूर्व अध्यक्ष चौधरीकी विधवा पत्नी रविता कुमारीलाई राजपा नेपालले फेरि त्यहाँ अध्यक्ष पदका उम्मेदवार बनाएको छ । राजपा नेपालका अध्यक्ष महन्थ ठाकुरका साथै अध्यक्ष मण्डलका सबै सदस्यका साझा उम्मेदवार रविता आफूले पतिको अधुरा सपना पूरा गर्ने उद्देश्य बोकेर चुनावमा होमिएको बताउनुहुन्छ । दुई वर्षको सानो अवधिमा आफ्ना पतिले पिपराका जनताका लागि विकासका धेरै काम गर्नुभएको र अझै बढी काम गर्न चाहेर गर्न नपाएको बताउनुहुने उहाँले पतिका अधुरा योजनाहरु पूरा गर्ने वाचा गर्नुभयो ।

अघिल्लो चुनावमा प्रतिद्वन्द्वीका रुपमा रहनुभएका तत्कालीन नेकपा एमालेका उम्मेदवार विक्रम चौधरीले पनि पुनः उम्मेदवारी दिनुभएको छ । अहिले एमाले र नेकपा माओवादी केन्द्र दुवै पार्टी एकीकृत भइसकेकाले दुबैको आफू साझा उम्मेदवार रहेको दावा गर्ने उहाँ आफ्नो जीत सुनिश्चित ठान्नुहुन्छ । उहाँ जनताको चाहना बमोजिम पिपरा गाउँपालिकालाई समृद्ध बनाउने दृढता व्यक्त गर्नुहुन्छ ।

चुनावी प्रतिष्पर्धामा मधेश र मधेशका लागि केवल समाजवादी पार्टी नै अब्बल रहेको दावीका साथ पिपरा गाउँपालिकाको उप निर्वाचनमा अध्यक्ष पदका उम्मेदवारी दिनुभएका समाजवादी पार्टीका उम्मेदवार रामजानकी यादवले पनि यसपालिको चुनाव आफूले जित्ने दावी गर्नुभएको छ । मधेश र मधेशीको हक, अधिकार स्थापित गर्ने र गाउँपालिकाको र्चौतर्फी विकास गर्ने क्षमता समाजवादी पार्टीसँग मात्र रहेको उहाँ दाबी गर्नुहुन्छ । यहाँ नेपाली काँग्रेसबाट विजय यादवले उम्मेदवारी परेको छ । उहाँले आफूलाई पिपराका जनताले जिताउने दाबी गर्नुभएको छ । यसपालि जितेर मधेश र मधेशी जनताको सम्पूर्ण मुद्दा सम्बोधन गर्ने वचनवद्धता उहाँ प्रकट गरिरहनुभएको छ ।

पहिलो पटक निर्वाचनमा होमिने मौका प्राप्त गरेको डा सिके राउतको पार्टीले पनि अध्यक्ष पदमा उम्मेदवारी दिएको छ । जनमत पार्टीबाट पिपरा गाउँपालिकाको अध्यक्ष पदमा अञ्जनी देवी मण्डलको उम्मेदवारी परेको छ । देशमा विद्यमान राजनीतिक दलहरुको जस्तो आफ्नो पार्टीको कुनै स्वार्थ नरहेको र केवल इमान्दारीका साथ जनताको सेवा गर्ने पवित्र उद्देश्य मात्र बोकेकाले पिपरा गाउँपालिकामा यसपालि नयाँ चमत्कार हुने उहाँ ठान्नुहुन्छ ।

यहाँ ११ जना पार्टीका र नौ जना स्वतन्त्र उम्मेदवार २० जना चुनावी मैदानमा छन् । सबैले आफू नै जित्ने दावी गरिरहे पनि नतीजा थाहा पाउन मङ्सिर १४ गते उप निर्वाचन कुर्नुपर्नेछ ।पिपरा गाउँपालिकामा सात वटा वडा रहेका छन् भने यहाँ १८ हजार ५८८ मतदाता छन् । पिपरा गाउँपालिकाको उपनिर्वाचनमा १५ वटा मतदान स्थल र २४ वटा मतदान केन्द्र रहनेछन् ।