• गृहपृष्ठ
  • नेपाल बैंकले कारोबार र समग्र उत्पादकत्व बढाउनु पर्ने, अर्थमन्त्री डा.खतिवडा

नेपाल बैंकले कारोबार र समग्र उत्पादकत्व बढाउनु पर्ने, अर्थमन्त्री डा.खतिवडा

Nov 17th, 2019

काठमाडौं, १ मंसिर
मुलुकको अग्रणी बैक नेपाल बैक लिमिटेड सेवाको ८३ औं वर्षमा प्रवेश गरेको छ । यस अवसरमा आयोजित मुल समारोहमा अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकको गौरवपूर्ण इतिहास भएको नेपाल बैकले आफना विगतका कमजोरीहरु दोहरिन नदिई निक्षेप कर्जा लगायत समग्र कारोबार र कर्मचारी उत्पादत्वमा गुणात्मक वृध्दि गर्नुपर्ने तर्फ बैकको ध्यानाकर्षण गर्नुभयो ।

सो अवसरमा अर्थमन्त्री डा. खतिवडाले नेपाल बैंक लिमिटेडका एकसाथ खुलेका २० वटा शाखा तथा काउन्टर र बैकको प्रधान कार्यालयमा स्थापित संग्रहालयको समुद्घाटन गर्नुका साथै सो संग्रहालय निर्माणमा योगदान पुरयाउने उदेशलाल श्रेष्ठ, यमुना महर्जन र जनसेवा ट्राफिक प्रहरी प्रतिनिधिलाई प्रशंसापत्र प्रदान गर्नुभयो । सो अवसरमा मन्त्री खतिवडाले उत्कृष्ठ कार्य गर्ने ६ शाखालाई पुरस्कार, कर्मचारीलाई दीर्घसेवा पदक र अतिरिक्त क्रियाकलापका विजयी टिम क्याप्टन संजीव जोशीलाई पुरस्कार प्रदान गर्नुका साथै बैकको प्रकाशन आर्थिक विशेषांक विमोचन समेत गर्नुभएको थियो । सो समारोहमा नेपाल राष्ट्र बैकका का.मु. गभर्नर चिन्तामणि शिवाकोटीले बैकले सहुलियतपूर्ण कर्जा विस्तारमा जोड दिनुपर्ने बताउनुभयो ।

बैंक संचालक समितिका अध्यक्ष वासुदेव अधिकारीले सभापतिको आसनबाट विगतमा संकटको सामना गरेको बैंकमा अब संकट आउन नदिने तर्फ सजगता अपनाइने र ग्राहक मैत्री प्रडक्ट ल्याई ज्येष्ठ बैंकलाई श्रेष्ठ बैकमा रुपान्तर गरिने बताउनुभयो । बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले बैक देशमा उद्यम ,उत्पादन ,रोजगारी सिर्जनामा गंभीर रहेको र यस सम्वन्धी सरकारी नीति कार्यान्वयनमा सघाउन बैकले १३९६ वटा कर्जामा २ अरब २ करोड सहुलियतपूर्ण कर्जा प्रवाहित गरेको जानकारी सहित ग्राहक सेवा, वित्तिय सवलता सबै आधारमा बैंकलाई नेपालको बैंकिङ बजारमा मानक बैंकको रुपमा विकास गर्ने प्रतिवध्दता प्रकट गर्नुभयो । समारोहमा बैंकका निमित्त नायव प्रमुख कार्यकारी अधिकृत समता पन्तले धन्यवाद मन्तव्य र का.मु. सहायक प्रमुख कार्यकारी अधिकृत एवं प्रवक्ता प्रकाश कुमार अधिकारीले स्वागत मन्तव्य दिनुभएको थियो ।

बैंकका प्रवन्धक अश्विन पुडासैनीको संचालनमा सम्पन्न समारोहमा नेपाल बैंक कर्मचारी यूनियनका अध्यक्ष राजुराम मुनकर्मी, नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष गोविन्द प्रसाद सुवेदी ,नेपाल वित्तिय कर्मचारी संघका अध्यक्ष जिवराज ढकाल ,नेपाल बैंक कर्मचारी संघका अध्यक्ष नवराज लम्साल लगायतका वक्ताले कर्मचारी हक हीत तथा संस्थागत सुदृढिकरण सम्वन्धमा मन्तव्य दिनुभएको थियो । यसै अवसरमा बैंकले सार्वजनिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत मानव कल्याण समाज भक्तपुरलाई ३ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । उक्त राशीको चेक बैंकको प्रदेश नम्बर ३ प्रादेशिक कार्यालयका प्रमुख सुन्दर पन्थीले समाजका संचालक सुमित्रा चौलागाईलाई एक समारोहकाबीच हस्तान्तर गर्नुभयो । यसै अवसरमा बैंकद्वारा आयोजित ज्ञान तथा अनुभव विनिमयको ११ औं श्रृंखलामा वरिष्ठ अर्थविद् एवं राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. स्वर्णिम वाग्लेसंग वार्ता कार्यक्रम आयोजना गरियो ।

यसैगरि बैंकले आयोजना गरेको निशुल्क स्वास्थ्य शिविरमा ३७९ जनाको स्वास्थ्य परीक्षण गरियो भने रक्तदान कार्यक्रममा ९१ रक्तदाताले रक्तदान गरे । यसैगरि बैकद्वारा प्रभातफेरिको आयोजना गरिनुका साथै दीपावली समेत गरिएको थियो ।