सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु

Nov 15th, 2019

काठमाडौं, २९ कात्तिक
धादिङ, धनुषा र सर्लाहीका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ ।

धादिङ, बेनिघाट रोराङ गाउँपालिका-३ मलेखु पेट्रोल पम्पस्थित सडकमा बा.९३ प १७९३ नम्बर र लु.४४ प १४९९ नम्बरको मोटरसाइकल शुक्रबार बिहान एकआपसमा ठक्कर खाँदा गम्भीर घाइते भएका बा.९३ प १७९३ नम्बरको मोटरसाइकलका चालक बेनिघाट रोराङ गाउँपालिका-३ बस्ने २५ वर्षीय अशोक मगरको राजमार्ग सामुदायिक अस्पताल मलेखुमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका दुवै मोटरसाइकलमा सवार २ जना र लु.४४ प १४९९ नम्बरको मोटरसाइकल चालकको सोही अस्पतालमा हुँदै थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ ।
धनुषा, लक्ष्मिनिया गाउँपालिका-६ सरफ फ्याक्ट्रीस्थित सडकमा ना.७ ख ३६९३ नम्बरको बसले ज.९ प ५४६१ नम्बरको मोटरसाइकललाई शुक्रबार बिहान ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक जनकपुर उपमहानगरपालिका-११ बस्ने ४१ वर्षीय गोबिन्द साहको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार हाल वतन नखुलेका धिरेश कुमार साहको सोही अस्पतालमा उपचार भइरहेको छ । बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सर्लाही, रामनगर गाउँपालिका-३ खैर्वाबहुअर्वास्थित खेत जोत्ने क्रममा ना.३ त ५१९४ नम्बरको ट्याक्टर अनियन्त्रित भई नदीमा पल्टिएर शुक्रबार बिहान दुर्घटना हुँदा चालक रामनगर गाउँपालिका-३ बस्ने २० वर्षीय रोशन सिहको घटनास्थलमै मृत्यु भएको छ ।
दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ