• गृहपृष्ठ
  • स्कुटर चोरी गर्ने तथा चोरी भएको स्कुटर किन्ने व्यक्तिहरु पक्राउ

स्कुटर चोरी गर्ने तथा चोरी भएको स्कुटर किन्ने व्यक्तिहरु पक्राउ

Nov 15th, 2019

धादिङ, २९ कात्तिक

स्कुटर चोरी गर्ने तथा चोरीका स्कुटर किन्ने कार्यमा संलग्न रहेको अभियोगमा ४ जनालाई धुनिबेशी नगरपालिका ५ बाट बिहीबार जिल्ला प्रहरी कार्यालय धादिङले पक्राउ गरी शुक्रबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका-१२ बस्ने रोहन महर्जन, काठमाडौं महानगरपालिका-१२ टेकु बस्ने जुम्ला आचार्यबाडा गाउँपालिका-१५ का २१ वर्षीय रमेश शाही, काठमाडौं महानगरपालिका-१४ खसीबजार बस्ने सबिन शाक्य र धादिङ धुनिबेशी नगरपालिका-५ पुरन्डी बस्ने ४० वर्षीय कुमार रेग्मी रहेका छन् ।

धादिङ धुनिबेशी नगरपालिका-५ पुरन्डीमा चोरीको स्कुटर बेचबिखन भइरहेको भन्ने गोप्य सूचना प्राप्त हुनासाथ तत्काल ईलाका प्रहरी कार्यालय खानीखोलाबाट खटिएको प्रहरीले रोहन महर्जन, रमेश शाही र सबिन शाक्यलाई उनीहरुको साथमा रहेका बा. ६७ प ५८८९ र बा.५५ प २०८४ नम्बरका स्कुटरहरु चोरी गरी ल्याएको खुल्न आएको र अन्य स्कुटरहरु कुमार रेग्मीलाई बिक्री गरिसकेको खुल्न आए पश्चात थप अनुसन्धानको क्रममा कुमारको घरबाट बा.५१ प ९१०६ र बा.८२ प ६०७१ नम्बरका स्कुटरहरु समेत प्रहरीले फेला पारी बरामद गरेको छ ।

उनीहरु उपर चोरी मुद्दामा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।