रोनाल्डोको ह्याट्रि: पोर्चुगलको जित

Nov 15th, 2019

काठमाडौं, २९ कात्तिक

युरोकप छनोट अन्तर्गत समूह ‘बी’ को खेलमा पोर्चुगलले लिथुआनियालाई पराजित गरेको छ। घरेलु टोली पोर्चुगलले बिहीबार राति भएको खेलमा लिथुनियालाई ६-० गोलअन्तरले पराजित गरेको हो । पोर्चुगलको जितमा कप्तान क्रिष्टियानो रोनाल्डोले ह्याट्रिक गरे।

रोनाल्डोले खेलको सातौँ मिनेटमा पेनाल्टीबाट गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए । २२औं मिनेटमा अर्को गोल गर्दै अग्रता दोब्बर बनाए । खेलको ५२औं मिनेटमा एफन्सो फर्नान्डेजले, ५६औं मिनेटमा मेन्डेस पसिन्सिया र ६३औं मिनेटमा बेर्नान्डो सिल्भाले गोल गर्दै पोर्चुगललाई ५-० गोलको अग्रता दिलाए ।

त्यसपछि खेलको ६५ औँ मिनेटमा अर्को गोल गर्दै रोनाल्डोले आफ्नो ह्याट्रिक पूरा गरे । जितसँगै पोर्चुगल ७ खेलमा १४ अंक बोकेर अंक तालिकाको दोस्रो स्थानमा छ। युरो २०२० मा छनौट हुनका लागि पोर्चुगल अब मात्र एक जीत टाढा रहेको छ ।